![](https://i0.wp.com/www.everestweek.com/wp-content/uploads/2019/09/Commerce-Department.jpg?resize=720%2C421)
न्यूरोडको रन्जना कम्प्लेक्सको कपडा होलसेलमा अनुगमन गर्न पुगेको वाणिज्य विभागको टोली माथि व्यवसायीले चाडपर्वको मुखमा अनुगमगन गरेको भन्दै दुव्र्यवहार गर्नुका साथै सपिंग सेण्टरबाट झारीदिने धम्की दिएका छन् ।
लत्ताकपडामा अस्वाभाविक मूल्यवृद्धि गरिएको गुनासो आएपछि बिहीबार अनुगमनमा गएको विभागको तीन टोलीमाथि अबरोध गर्दै व्यवसायीले बोरामा बाँधेर कम्पलेक्सबाट खसाल्ने धम्की दिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले बताएका छन् ।
पसलमा मूल्यसूची नराखेका, खरिद बिल बिजक नभएका ४ वटा पसललाई जनही ५० हजार रुपैयाँका दरले अनुगमन टोलीले जारिवाना गरेपछि व्यवसायी अनुगमन टोलीमाथि आक्रमक शैलीमा उत्रिएका हुन् ।
व्यापारीको अवरोधपछि विभागको आग्रहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यस क्षेत्रमा प्रहरी नायब उपरीक्षक डिएसपी को नेतृत्वमा सुरक्षाकर्मी पठाएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि व्यापारी पछि हटेका थिए ।
पछिल्लो साता विभागको टोलीले बालाजु, गोङ्गबु, कलङ्की, कोटेश्वर, जावलाखेल, लगनखेल, बानेश्वरलगायतका फेन्सी पसलमा अनुगमन गरेको थियो । ती क्षेत्रका अनुगमनका क्रममा तयारी पोशाकमा उपभोक्ता चर्को ठगीमा परेको पाइएको विभागले जनाएको छ ।
तीनै व्यापारीले दिएको सूचनाका आधारमा आज विभागले तयारी पोशाकको होलसेल मानिएको रञ्जना क्षेत्रमा अनुगमन गरेको हो । नजिकिँदो दशैँ, तिहारलगायत चाडबाडमा कपडा खरीदमा ठूलो धनराशी खर्च गर्ने हुँदा उपभोक्ता चर्को ठगीमा नपरुन् भनेर विभागले तयारी पोशाकका क्षेत्रमा अनुगमनलाई व्यापकता दिएको हो ।
प्रतिक्रिया