११ फाल्गुन २०८१, आइतबार । February 23, 2025

समाचार

सिञ्जामा भालु आतङ्क स्थानीयबासीमा त्रास




जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्कले स्थानीयबासी आतंकित बनेका छन् । भालुले खेतवारीमा लगाएको कृषिजन्य बस्तुहरु नाश गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि किसानह€र रातभर जाग्राम बस्न बाध्य बनेका छन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताए ।

सिञ्जाको जाला, घोडीलेख, तल्लो जालालगायतका क्षेत्रमा भालुले मकै खाने गरेको छ । बारीमा लगाएको मकै खान नपाएपछि भालुले मानिसलाई नै आक्रमण गर्ने भएकाले स्थानीयवासीमा त्रास फैलिएको रावतले जानकारी दिएका छन् । भालु आतङ्कका कारण साँझ–बिहान हिँडडुुल गर्नसमेत जोखिम बढेको स्थानीयवासीले बताएका छन् ।

बिहान र दिउँसो स्याउला सङ्कलन गर्ने, गाईवस्तु चराउन जाने र दाउरा खोज्न जानुपर्ने भए पनि भालुको आतङ्कले जान नसकिएको स्थानीयवासीले बताएका छन् । रावतका अनुसार केही दिनअघि मात्र भालुले सोही वडाका भीमबहादुर रावतको गोरु, छपी रावतको एउटा गाई, वीरुकुम रावतका दुई गोरु र बलबहादुर रावतका दुई भेँडा भालुले मारेको जयलालले जानकारी दिएका छन् । बारी निकै घना भएकाले यस क्षेत्रमा भालुले वर्षेनी दुःख दिने गरेको छ ।
–––

प्रकाशित : १७ भाद्र २०७६, मंगलबार ००:००