२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

समाचार

प्रधानमन्त्रीको प्लाज्माफेरेसिस शुरु, स्वास्थ्य अवस्था सामान्य



उपचारको सिलसिलामा सिङ्गापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहनु भएका उहाँमा गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया शुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन् । रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आज र अझ केही दिन निरन्तर रहने छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ । प्रधानमन्त्री ओली मिर्गौला सम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिङ्गापुर प्रस्थान गर्नुभएको थियो । यसअघि उहाँ गत साउन १८ गते सिङ्गापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्कनु भएको थियो । केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि उहाँको मिर्गौलाको क्षमता अभिवृद्घिका लागि पुनः सिङ्गापुर गएका हुन्। प्रधानमन्त्रीको साथमा उहाँका धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन् ।

प्रकाशित : ८ भाद्र २०७६, आइतबार ००:००