२ कार्तिक २०८१, शुक्रबार । October 19, 2024

समाचार

रवि सहित तीनजना आत्महत्या दुरुत्साहन अन्तर्गत जेल जान सक्ने



पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला प्रहरी कार्यालयले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोग लगाउन राय पेश गरेको जानकारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको अभियोगमा मुद्दा चलाउन राय प्रदान भएको जिल्ला अदालत चितवनले जनाएको छ ।
साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका पुडासैनीको मृत्युअघि रेकर्ड भएको भिडियोमा उनले आफूलाई न्युज २४ टेलिभिजनको सीधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने, उक्त कार्यक्रमका उत्पादक युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई पक्राउ गरेको थियो । उनीहरुलाई १० दिनसम्म थुनामा राखेर अनुसन्धान गरेपछि प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन राय दिएको उक्त घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालयलाई सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का डीएसपी दीपक रेग्मीले जानकारी दिएका छन् ।

प्रहरीले लामिछानेसहित तीन जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो । सरकारी वकिलले आजै अदालतमा मुद्दा दर्ता गरेमा अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको बहस हुने बताइएको छ । लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । उनीहरु पक्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् ।
मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । यसै प्रकारका अन्य छ मुद्दा उक्त अदालत चितवनमा दर्ता भइसकेका छन् ।

प्रकाशित : ८ भाद्र २०७६, आइतबार ००:००