२५ माघ २०८१, शुक्रबार । February 7, 2025

समाचार

प्राचीन काली मन्दिर रङ्गेलीको पहिचान



मोरङको रङ्गेली नगरपालिकास्थित काली मन्दिरमा भक्तजन एवं श्रद्धालुहरु आफ्नो मनोकाङ्क्षा पूरा हुने कामनामा साथ दर्शन गर्न आउने गरेका छन् । सबै क्षेत्रबाट पूजाका लागि पुगिने यो मन्दिर विराटनगर महानगरपालिकादेखि करीब ४० किमी पूर्वमा पर्छ । हुलाकी राजमार्गसँग जोडिने रङ्गेलीबजारमा अवस्थित यो मन्दिरले स्थानीयवासीलाई पहिचान गराउन मद्दत गरिरहेको छ । मन्दिर तीन कठ्ठा १० धुर जग्गामा पेगोडा शैलीको कलात्मक एवं निकै आकर्षक देखिन्छ । मोरङको पुरानो सदरमुकाम रङ्गेलीमा अवस्थित काली मन्दिर पूर्वकै प्राचीन मन्दिर हो भने यहाँ आउने मानिसका मनोकाङ्क्षा पूरा हुने गरेको आम विश्वास छ । भक्तजन र श्रद्धालुहरुले आफ्नो मनकामना पूरा होस् भनेर पूजापाठ गर्नुका साथै बोका, परेवा, हाँसजस्ता जन्तु बलि चढाउने गर्दछन् । यस मन्दिरमा विवाह होस् वा सन्तान प्राप्तिका लागि माताको दर्शन गर्न जाने भक्तजनको भीड लाग्नुले रङ्गेलीको परिचय र महिमा बढेको पाइन्छ । यो मन्दिर कहिले र कसरी स्थापना भयो भन्ने कुरा यकिन गर्न नसके पनि करीब २०० वर्ष पुरानो रहेको स्थानीयवासीको अनुमान छ । काली मन्दिर व्यवस्थापन समितिबाट मन्दिरको कार्य चलेको पुजारी तीर्थप्रसाद भण्डारीले बताउनुभयो । मन्दिरको नयाँ भवन निर्माण भएसँगै हरेक वर्षको वैशाख शुक्ल अष्टमीको दिन काली मन्दिरले वार्षिकोत्सव मनाउने गरेको छ । त्यस दिन भारतको विभिन्न ठाउँहरुबाट पनि भक्तजनहरु आउने गरेका छन् । सरकारी खर्चबाट कुनै किसिमको सहयोग नरहेको र सरकारी निकायले ध्यान नदिएको पुजारी भण्डारीले गुनासो गर्नुभयो । आर्थिक सहयोग कतैबाट नजुटेपछि भक्तजनबाट उठेको रकम मन्दिरकै काममा खर्च गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, रङ्गेली बजारमा संसारीमाईको मन्दिर पनि छ । काली मन्दिर पूजापाठका लागि पुग्ने भक्तजन एवं श्रद्धालुहरु संसारीमाईस्थानमा पनि पुगेर पूजापाठ एवं धार्मिक क्रियाकलाप गर्ने गरेको स्थानीयवासी बलराम पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित : ८ भाद्र २०७६, आइतबार ००:००