काठमाडौँ । राष्ट्रियसभाका सांसदले मानवाधिकारवादीहरुलाई प्रहरीले टेलिफोनमार्फत गरेको सोधपुछप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद राधेश्याम अधिकारीले मानवाधिकारको क्षेत्रमा स्थापित व्यक्तित्व दमननाथ ढुङ्गाना, कृष्ण पहाडी र चरण प्रसार्इंलाई प्रहरीद्वारा अनपेक्षित प्रश्न सोधाएर आमजनमानसमा भय–त्रास सिर्जना गर्न खोजेको त होइन भनी प्रश्न गरे ।
सांसद अधिकारीले मानवाधिकारीवादीलाई प्रहरी प्रधान कार्यालयबाट अज्ञात प्रहरीले टेलिफोन गरी कुन संस्थामा आबद्ध हुनुहुन्छ भनी सोधेको विषयसम्बन्धी समाचारप्रति गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
बैठकमा सांसद डा विमला पौडेलले नेपाली टेलिभिजनहरुका समाचारमा पढ्न र सुन्न नसक्ने व्यक्तिको सुसूचित हुने अधिकारका लागि आवश्यक मात्रामा दोभाषेको व्यवस्था नभएको गुनासो गरे । उहाँले सबै टेलिभिजनलाई कम्तीमा दिनमा एक पटकको समाचारमा दोभाषेको व्यवस्था गर्ने नीतिको पालना गराउन माग गरे ।
सांसद सुमनराज प्याकुरेलले हालैको बाढी र डुबानबाट पीडित जनताको जमीनमा वर्षे खेती नहुने अवस्था रहेकाले हिउँदे खेतीको उचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
प्रतिक्रिया