१ मंसिर २०८१, शनिबार । November 16, 2024

मुख्य खबर

भोज खाँदा ४१ बिरामी



दमौली, १५ असार  । तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् । स्थानीयवासीले भोजमा माछा, कुखुराको मासु, केराउको तरकारी, सलादलगायत खाएका थिए । माछा खाएका गाउँले बिरामी परेको भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले जानकारी दिनुभयो । “अन्य खानेकुरा खाएका स्थानीयवासीलाई केही असर छैन,” श्रेष्ठले भन्नुभयो, “माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेका छन् ।” बिरामी परेका स्थानीयवासीलाई झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने लक्षण देखापरेको छ । बिरामीमध्ये तीनलाई थप उपचारका लागि काठमाडाँै पठाइएको छ भने अन्य बिरामीको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेकाले माछाको असर देखिएको हुनसक्ने इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक नीरज डाँगीले जानकारी दिनुभयो । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख शिवजी बरालले डुम्रे बजारको एक पसलबाट माछा खरीद गरी लगिएको र माछाको विषादीका कारण स्थानीयवासी बिरामी परेको हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “घटनास्थल पुगेर खानेपानी, माछाको परीक्षणका लागि नमूना सङ्कलन गरेका छाँै ।”

प्रकाशित : १५ असार २०७६, आइतबार ००:००