काठमाडौं १० असार । सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । विहान सडकमा फाट्टफुट्ट सवारी साधन चलेको छ । विहान भाडाको सवारी कमै मात्र चलेका छन् । १० बजे पछि भने सडकमा बाक्लो सवारी साधन निस्किएका छन् । अन्य दिनको तुलनामा सार्वजनिक सवारी धेरै कम मात्रामा चलेका छन् । बन्दको त्रासले सवारी नचल्दा जनजीवन प्रभावित भएको छ ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि१० बजे पछि सडकमा चाप पढ्दै गएको जनाएको छ । बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा देशैभरका जनजीवन प्रभावित भएको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, एकदुई बाहेक सवारी उपत्यका बाहिरएको छैन ।
देशकै प्रमुख लाइफलाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् ।
बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, उद्योग, पसल लगायतमा पनि परेको छ । त्रासका कारण स्कुल कलेजले विदा दिएको छ ।
बन्दको प्रभाव देशको सबै भागमा परेको छ । देशको मुख्य शहर तथा अन्य साना सहरमा समेत सवारी चलेको छैन । बन्दकर्ताअरु खुलेर बन्द गर्न ननिस्किए पनि निसानामा पर्ने डरका कारण सबैतिर ठप्प छ ।
आफ्नो कार्यकर्ता सर्लाही इञ्चार्ज कुमार पौडेलको विरोधमा विप्लव समूहले नेपाल वन्दको घोषणा गरेको हो । प्रहरीको गोलीबाट पौडेल गत असार ५ गते मारिएका थिए । प्रहरीले इन्काउन्टरमा मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिई गैरन्यायिक हत्या गरिएको आरोप लगाएको छ ।
प्रतिक्रिया