सुरेन कुँवरर प्राङ्गारिक खेती प्रणालीबाट कृषि पेशा गरिरहनुभएका चितवनका चन्द्रप्रसाद अधिकारीले यस वर्ष ११४ जातको धानको बीउ राखेका छन् । अघिल्लो वर्ष ११२ जातको धानको बीउ हालेका उनले यस वर्ष थप दुई नयाँ जातको बीउ राखेका हुन् ।

चितवनको भरतपुर महानगरपालिका–१५ श्रीपुरका अधिकारीले करीब दुई बिघा क्षेत्रफलमा यो बीउलाई रोप्ने तयारी गर्नुभएको छ । विसं २०६४ मा सात जातको धानको बीउबाट जात बढाउने अभियानमा लागेका उनले अहिले ११४ जातको पु¥याएका छन् । करीब दुई कठ्ठामा एक पाथीका दरले छुट्टाछुटै ड्याङ बनाएर गत जेठ २७ मा बीउ राखेका हुन् । यो धानको बीउ असार १५ गतेदेखि रोप्ने तयारीमा जुट्नु भएको छ । धान दिवसको दिन कार्यक्रम गरेर उहाँले दुई बिघामा ती धान रोप्ने गर्नुहुन्छ । नेपालका विभिन्न जिल्ला, भारत, बङ्गलादेश र अमेरिकाबाट धानको बीउ सङ्कलन गरेर ल्याएको उहाँले जानकारी दिनुभयो । “अमेरिका र दक्षिण कोरियाबाट पनि धानको बीउ ल्याएँ”, उहाँले भन्नुभयो, “ती धानका बीउ उमार्न सकिएन । नेपालका उच्च भेगमा पाइने धानको बीउ पनि यहाँ उम्रिएन ।” मार्सी, जुम्ले मार्सी र मार्सी चङ्गोलजस्ता पहाडमा पाइने धान भने उहाँले वर्षेनी रोप्दै आइरहनुभएको छ । रैथाने एवं उन्नत जातका स्थानीय धानलाई संरक्षण गर्न वर्षेनी यो काम गर्दै आइएको उहाँको भनाइ छ । जीवित बीउ बैंकका रुपमा विकास गर्ने चाहना भएको उहाँ बताउनुहुन्छ । मनसारा, आछामे मसिनो, आँपझुत्ते, सत्तरी, जेठो बूढोलगायतका धान लोप हुने अवस्थामा पुगेको भन्दै उहाँले यसको संरक्षणमा सबै जुट्नुपर्ने बताउनुभयो । उहाँका अनुसार नेपालमा २०० भन्दा बढी धानको जात पाइने र त्यसमध्ये ६० रैथाने र अन्य उन्नत तर अहिले स्थानीय भइसकेका धानको बीउलाई संरक्षण गर्नुभएको छ । उहाँले धानको बीउ संरक्षण गर्न निफन्ने, सुकाउने र मुसाले नखाने गरी गोदाममा भण्डारण गर्दै आइरहनुभएको छ । उहाँका अनुसार रैथाने जातका अन्य बालीको संरक्षणमा वार्षिक एक लाखभन्दा बढी खर्च हुने गरेको छ । अधिकारीले नेपालीहरुमा उन्नत जातको नाममा परनिर्भता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “उन्नत जातको धान लगाउने चलन व्यापक छ”, उहाँले भन्नुभयो, “अरुले बीउ दिए उत्पादन गर्न सक्छौँ । नत्र हामीसँग बीउकै कारण कुनै वर्ष भोकै बस्नुपर्ने अवस्था आउन सक्छ ।” अधिकारीले रैथाने जातका धनलाई संरक्षण एवं प्रवद्र्धन गर्न नेपाल सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । उन्नत जातका बिउ खरीदका लागि वर्षेनी ठूलो रकम बिदेसिने गरेको छ । उन्नत जातका धान केही वर्ष राम्रै उत्पादन भए पनि स्थानीय जातको धानमा पाइने पौष्टिक तत्व त्यसमा नपाइने उनले बताए । –––
प्रतिक्रिया