गण्डकी प्रदेशसभाको आजको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । असार ६ गते पनि स्थगन भएर आज दिनको १२ बजेका लागि बैठक तोकिएकामा अर्को सूचना नआएसम्मका लागि भनेर बैठक स्थगन सूचनामार्फत जानकारी गराइयो ।
आज दिनको १२ बजेका लागि तोकिएको प्रदेशसभाको बैठक विशेष कारणबस स्थगन गर्नुपर्ने भएकाले गण्डकी प्रदेशसभा, प्रदेशसभा नियमावली २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगन भएको सूचनामा उल्लेख गरिएको छ ।
प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बजेट वक्तव्यमा समावेश कतिपय कार्यक्रम विनियोजन विधेयकमा समावेश नभएको तथा कतिपय कार्यक्रम दोहोरिएको भन्दै सदन अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख नेत्रनाथ अधिकारीले असार ६ गतेको बैठक शुरु नै नगरी स्थगन गर्नुभएको थियो ।
सोे बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले अघिल्लो दिन सभामा प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने र सो विधेयकमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची थियो ।
प्रतिक्रिया