
काठमाडौँ । संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गरेका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्नुहुँदै उनीहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिए । सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त चौधरीलगायतले यस्तो माग गरेका हुन् ।
सांसद खगराज अधिकारी र खेमप्रसाद लोहनीले गुठी विधेयक बाहिर चर्चा गरिएजस्तो धर्म र संस्कृति विरोधी नभएको बताए । सांसद गणेशकुमारी पहाडीले सिन्धुलीको कमलामाईलगायत स्थानमा हात्तीले धनजनको क्षति प¥याएकाले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।
सांसद गौरीशङ्कर चौधरीले नदीबाट गिट्टी बालुवा पूर्णरुपमा निषेध गरिँदा विकास निर्माणमा असर परेको बताए । अर्का सांसद घनश्याम खतिवडाले उत्खनन गरिसकेका खोलामा अब ठेक्का नलगाउने व्यवस्था मिलाउन र मापदण्ड तोकेर मात्र नदीको उत्खनन गरिनुपर्नेमा जोड दिए ।
सांसद जुलीकुमारी महतोले गुठी विधेयकले धर्म र संस्कृतिलाई सभ्य बनाउन खोजेको बताइन् । जनकपुरको गुठीमा धेरै अव्यवस्था रहेकाले त्यसको व्यवस्थापन गर्न यो विधेयक ल्याइएको उनको भनाइ थियोे ।
प्रतिक्रिया