काठमाण्डौ । प्रदेश नम्बर १ का अस्थायी राजधानी विराटनगरमा अनशनका लगि स्प्रिङ आन्दोलनकर्मीलाई विदाई गरिएको छ । लिम्बुवान स्प्रिङ आन्दोलनले आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि अनशन बस्न विराटनगर हिडेका आन्दोलनकर्मीहरुलाई खादा ओडाएर विदाई गरेको हो ।
प्रदेशको नाममा लिम्बुवान छुट्न नहुने भन्दै लिम्बुवान स्प्रिङ आन्दोलनसम्बद्ध युवाहरूले प्रदेश सभाअगाडि यहि २२ र २३ गते अनशन बस्ने भएका छन् ।
स्प्रिङ आन्दोलनका सुमी लङ्वा लिम्बू, सौजन लिम्बू, सुन्दर लिम्बू र सुनिल आङ्बो अशसनका लागि काठमाण्डौबाट विराटनगर प्रस्थान गरेका छन् । उनीहरुलाई लिम्बुवान मुक्ति मोर्चाको अध्यक्ष तथा लिम्बूवानका अभियन्ता वीर नेम्बाङ, राजनीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तान, राम मादेन, स्प्रिङ आन्दोलनका अभियन्ता टंक सेलिङ लगायतले उनीहरुलाई शुभकामना सहित विदाई गरेका छन् ।
प्रदेशको नाम तोक्ने चर्चा सतहमा आएसंगै विभिन्न समूहले आफ्नो अनुकुल नाम राख्न लविङ गर्नेदेखि आन्दोलनको कार्यक्रम समेत सार्वजनिक गरिरहेको छ । स्प्रिङ आन्दोलन १ नम्बर प्रदेशको नाम लिम्बूवान राखिनु पर्ने माग सहित सामाजिक सञ्जालदेखि सडकमा समेत सक्रिय छ ।
अरुण पूर्वका ९ जिल्ला छुटै लिम्बुवान प्रदेश स्थापनाका लागि संवैधानिक जटिलता फुकाउनुपर्ने लिम्बुवान स्प्रिङ आन्दोलनको माग छ । तथापी तत्काललाई एक नम्बर प्रदेशलाई लिम्बुवान नामाकरण गरेर लिम्बुवानवासीको मनोविज्ञानलाई सम्मान गर्नुपर्ने उनीहरूले बताएका छन् ।
विभिन्न सङ्गठन, क्षेत्र र पेशामा आबद्ध युवाहरूले गत चैत २६ गते सामाजिक सञ्जाल मार्फत लिम्बुवान स्प्रिङ आन्दोलनको उद्घोष गरेका थिए
प्रतिक्रिया