३० कार्तिक २०८१, शुक्रबार । November 15, 2024

मुख्य खबर

प्रदेशको नाम किरात नराखिए अशान्ति

किरात नाममा समर्थन गर्न प्रदेश सांसदहरुलाई आग्रह




काठमाडौं । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले १ नम्बर प्रदेशको नाम किरात नराखिए अशान्ति हुने चेतावनी दिएको छ ।
प्रदेशको नाम र स्थायी राजधानी बारे भोली १९ गतेसम्म प्रस्ताव दर्ताहुदैछ । प्रदेशको नामसँग सम्बन्धित रहेर यायोक्खाले आज (१८ गते) केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेशको नाम किरात नराखे आन्दोलनहुने चेतावनी दिएको हो ।
प्रदेश सभामा किरात नाम राख्न प्रस्ताव दर्ताहुने विज्ञप्ति मार्फत दावी गरिएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सभामा किरात प्रदेश नामको लागि प्रस्ताव दर्ता हुँदैछ ।’
उक्त प्रस्तावमाथि समर्थन वा सहयोग गरिदिन १ नम्बर प्रदेशको सांसदहरुलाई यायोक्खाले आग्रह गरेको छ । यायोक्खाले संस्थाको तर्फबाट ९३ जना नै सांसदलाई दैनिक एस.एम.एस. अभियान चलाएको अध्यक्ष दिवस राईले बताए । म्यासेज आम रुपमा चलाएर प्रदेशको मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख र सांसदहरुलाई ध्यान आकर्षण गराउदै आएको अध्यक्ष राईले बताए ।

किरातले बहुपहिचानलाई सम्बोधन गर्ने

‘किरात कुनै एउटा जाति होइन ।’ विज्ञप्तिमा भनिएको छ ‘किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो ।’ इतिहास र सभ्यताको सवैले सम्मान गर्नुपर्ने उल्लेख छ । किरात शब्दले बहुपहिचान झल्किने दावी गर्दै प्रदेश नाम राख्न आम भूगोलबासीलाई सहयोग र समर्थन गर्न आग्रह गरिएको छ ।


किरात नाम नराखिए विद्रोहीलाई बल पुग्ने दावी
प्रदेशको नाम किरात नराखिए त्यो भूगोलमा शान्ति नहुने र नदी वा हिमालको मात्र नाम राखिए विद्रोही शक्तिलाई वल पुग्ने विज्ञप्तिमा उल्लेख छ । असन्तोषहरु बढ्दै जाँदा भविश्यमा गम्भीर आन्दोलनहुने चेतावनी दिइएको छ । यायोक्खा यस्तो अवस्था नआओस भन्न चाहेको बताइएको छ । परिस्थिति बुझेर पनि प्रदेशको नाम किरात नराखिए त्यसबाट आउन सक्ने गम्भीर परिस्थितिको जिम्मा प्रदेश सरकार, सांसदहरु र दलका नेताहरुले लिनुपर्नेछ उल्लेख छ ।

दीप प्रज्वलन गर्न आतुर र भ्रम नछर्न आग्रह
प्रदेशको नाम किरात नै राखिन्छ भन्नेमा विस्वासमा रहेको, भूगोलबासीहरु दीप प्रज्वलन गर्न आतुर रहेको र विश्वास घात भए विशिष्ट प्रकारको आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ । यायोक्खाले प्रदेश सभा, सत्ता र प्रतिपक्ष संसदीय दलको बैठकहरुमा प्रदेशको नाम तथा स्थायी राजधानी बारे भइरहेको छलफलको मिहिन ढंगले अध्ययन गरिरहेको अध्यक्ष राईले बताए । ‘पछिल्लो अवस्था वारे संस्थागत जानकारी लिन केन्द्रदेखि प्रदेशको विभिन्न दलका नेताहरुसँग सम्पर्कमा छौ ।’ विज्ञप्तिमा भनिएको छ ‘कतिपय समाचारहरु भ्रम सिर्जन गर्ने वा किरात नाम प्रतिकुलहुने गरी आइरहेको छ ।’
केही सञ्चार माध्यमहरुले सुनियोजित रुपमा कोशी वा सगरमाथामा सहमत भएको दलका शीर्षस्त नेताहरुले निर्देशन दिएको जस्ता ’भ्रमपूर्ण’ समाचारहरु आइरहेको भन्दै सञ्चार माध्यमहरुलाई त्यसो नगर्न यायोक्खाले आग्रह गरेको छ ।

शीर्ष नेता र सरकारसँग भेटघाट
प्रदेशको नाम किरात राख्न सहजीकरण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व सभामुख शुवास नेम्वाङ, नेकपा युवा नेता योगेश भट्टराई लगायतलाई भेटेर ज्ञापन पत्र बुझाएको यायोक्खाको महासचिव जनक राईले बताए ।
प्रदेशको मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको नेता राजिव कोइराला लगायत ९३ जना नै सांसदलाई पटक पटक ज्ञापन तथा स्मरण पत्र बुझाउदै आएको छ । सरकार सञ्चालक, दलका नेताहरु, लेखक, विश्लेशक कसैले पनि किरान हुदैन नभनेको उपाध्यक्ष जीवन हाताचो राईले बताए ।

डेढा दशक भन्दा अघिदेखि निरन्तर अभियान
यायोक्खाले डेढ दशक अघिदेखि पूर्वी नेपालको भूभागलाई किरात प्रदेश नामकरण गर्न विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको छ । किरात प्रदेश नामकरणको लागि भूगोलबाट २५ लाख हस्ताक्षर संकलन गरी प्रदेश सकारलाई बुझाइ सकेको छ । यायोक्खाकै समन्वयमा २३ वटा सामुदायिक संस्थाहरुले संस्थागत रुपमा १ नम्बर प्रदेशको नाम किरात राख्न एकल र संयुक्त ज्ञापनपत्रहरु बुझाएको थियो ।
यायोक्खाले बास्केटवल, फुटबल, दौड प्रतियोगिता, साइकल तथा पद यात्रा, साहित्यिक कार्यक्रम र प्यारा ग्लाइडिङ्ग जस्ता खेलको आयोजना गरेर समेत किरात प्रदेश नामकरण गर्न माग गर्दै आएको थियो । पत्रकार सम्मेलनमा उपाध्यक्ष जीवन हाताचो राई, टिकासरी राई, महासचिव जनक राई, उपमहासचिव भीम राई, सचिव अर्जुन जम्नेली राई, पूर्व उपाध्यक्षहरु

                                       प्रेस विज्ञप्तिको पूर्ण पाठ

पत्रकार ज्यूहरु
सवैमा सेवा !

किरात राई यायोक्खा करिब १० लाख किराती राईहरुको साझा एवम् सर्वोच्च छाता संगठन हो । ३० वर्ष अघि स्थापना भएको यस संस्थाको २४ जिल्ला कार्य समिती, ८ भातृ संस्था, २८ थरगत(भाषिक संस्था,१७ विदेश शाखा संस्था, ७ संवन्धन संस्था र १००० भन्दा बढी गाँउ,नगर र वडा स्तरीय संगठन रहेको छ ।
यायोक्खा डेढ दशक भन्दा अघिदेखि पूर्वी नेपालको भूभागलाई किरात प्रदेश नामकरण गर्न विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको पुन जानकारी गराउद छौं । किरात प्रदेश नामकरणको लागि भूगोलबाट २५ लाख हस्ताक्षर संकलन गरी बुझाइएको छ । १ नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको नेता राजिव कोइराला लगायत ९३ जना नै प्रदेश सांसदलाई पटक पटक ज्ञापन तथा स्मरण पत्र बुझाउने काम भएको छ । २३ वटा सामुदायिक संस्थाहरुले संस्थागत रुपमै १ नम्बर प्रदेशको नाम किरात राख्न एकल र संयुक्त ज्ञापनपत्रहरु बुझाएका छौ ।
१ नं.प्रदेशको नाम किरात राख्न सहजीकरण गरिदिन आग्रहसहित प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री माधव नेपाल, नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा, प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्व सभामुख शुवास नेम्वाङ, नेकपा युवा नेता योगेश भट्टराई लगायतलाई भेटेर ज्ञापन पत्र बुझाएका छौ । हामी शान्तिपूर्ण आन्दोलन वा अभियानमा छौ ।
प्रदेश सभामा भोली १९ गतेसम्म नाम र राजधानी प्रस्ताव दर्ता गर्ने र त्यसपछि औपचारिक रुपमा छलफल हुदैछ । हामी मुख्यमन्त्री, सभामुख, प्रदेश र संघका सांसदहरु, संसदीय दलका नेता, त्यहाँका स्थापित पार्टीका नेताहरुसँग अहिलेपनि निरन्तर सम्पर्कमा छौ । प्रदेश सभामा किरात प्रदेश नामको लागि प्रस्ताव दर्ता हुँदैछ । किरात राई यायोक्खा उक्त प्रस्तावमाथि समर्थन वा सहयोग गरिदिन माननीय सांसदहरुलाई यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौ । यायोक्खाले संस्थाको तर्फबाट बिभिन्न समयमा भेटेर र दैनिक रुपमा ९३ जना नै प्रदेश सभा सदस्यहरुलाई एस.एम.एस. र व्यक्तिगत रुपमा पनि किरात नाम राख्न आग्रहसहितको म्यासेज पठाउदै आएका छौं । एस.एम.एस. अभियान आम रुपमा चलिरहेको छ ।
किरात कुनै एउटा जाति होइन । किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो । यसको सम्मान गर्नु हामी सवैको कर्तव्य हो । त्यही भएर हामी इतिहास, भूगोल र सभ्यताको सम्मानको लागि बहुपहिचान झल्किने किरात प्रदेश नाममा सवैको सहयोग र समर्थनको आम भूगोलबासीहरुलाई समेत आव्हान गर्दछौ ।
पहिचानको आधारमा प्रदेशको नाम किरात राखिएन भने अन्तत त्यो भूगोलमा शान्ति स्थापना हुन सक्दैन भन्ने हामीले बुझेका छौं । नदी वा हिमालको मात्र नाम राखियो भने त्यहाँको विद्रोही शक्तिलाई वल पुग्न सक्छ । असन्तोषहरु बढ्दै जाँदा भविश्यमा गम्भीर आन्दोलनहुने देखिन्छ । हामी त्यो अवस्था नआओस भन्न चाहन्र्छौै । बुझेर पनि प्रदेशको नाम किरात नराखिए त्यसबाट आउन सक्ने गम्भीर परिस्थितिको जिम्मा प्रदेश सरकार, सांसदहरु र दलका नेताहरुले लिनुपर्नेछ ।
प्रदेशको नाम किरात राखिन्छ भन्नेमा विस्वास्थ छौं । आम भूगोलबासीहरु दीप प्रज्वलन गर्न आतुर रहेका छन् । यदि हाम्रो विश्वास माथि घात गरिए विशिष्ट प्रकारको आन्दोलनमा जान बाध्य हुनेछौ । यही पत्रकार सम्मेलन मार्फत प्रदेश सरकार र सदनलाई सचेत गराउन चाहन्छौ कि भूगोलबासीको विचार, चाहनाको सम्बोधन होस ।
यतिवेला हामी प्रदेश सभा, सत्ता र प्रतिपक्ष दलभित्र प्रदेशको नाम तथा स्थायी राजधानी बारे भइरहेको छलफलको मिहिन ढंगले अध्ययन गरिरहेका छौं । केन्द्रदेखि प्रदेशको विभिन्न दलका नेताहरुसँग सम्पर्कमा छौ । विभिन्न सञ्चार माध्यमहरुमा आएका सामाग्रीहरुको अध्ययन समेत गरिरहेका छौं ।
कतिपय विषयहरु भ्रम सिर्जन गर्ने वा किरात नाम प्रतिकुलहुने गरी समाचारहरु आइरहेको छ । केही सञ्चार माध्यमहरुमा कोशी वा सागरमाथामा सहमत जुट्यो । शीर्षस्त नेताहरुले कोशी राख्न निर्देशन दिएको जस्ता भ्रमपूर्ण समाचारहरु आइरहेकोमा हामी त्यसो नगर्न यो पत्रकार सम्मेलन मार्फत अनुरोध गर्दछौै ।
अस्तित्वमा रहेका पार्टीको केन्द्रदेखि प्रदेशका नेताहरु, लेखक, विश्लेशकहरु किरात नामप्रति सकारात्मक मात्र होइन किरात नाम राख्न नेतृत्व नै गरिरहनु भएको छ । त्यसकारण प्रदेश सभामा नाम र राजधानीको औपचारिक छलफल हुदैगर्दा किरात नाम राख्नको लागि प्रचारप्रशार गर्न सम्पूर्ण पत्रकारहरुलाई हार्दिक अनुरोध गर्दछौ ।

१ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गर्ने आधारहरु ।

१) किरात शब्द आफैंमा वहुपहिचान सहितको सर्व प्राचिन तथा सर्व स्वीकार्य नाम भएको र किरात शब्दले कुनै एक जातीलाई अर्थात राई जातिलाई मात्र प्रतिनीधित्व गर्दैन । १ नं प्रदेशको हिमाल, पहाड, तराईका १६ वटा जातिका किराती समुदाय लगायत सवै आदिवासी जनजाती र खस आर्य समुदायसमेतले आफुलाई ऐतिहासिक भुगोलको आधारमा किराती भन्न गर्व गर्दै आएका छन् ।

२) हजारौं बर्ष पहिले नेपालको पूर्वी भूभागमा भष्मे खोरिया फाँडेर मानव सभ्यताको सुरुवात गरेको किरात समुदायले इतिहासको काल खण्डमा आफ्नो विशिष्ट भाषा, संस्कार, संस्कृति, सभ्यतालाई स्थापित गरी राज्यलाई नै यस विषयहरुमा समृद्द बनाएकाले पनि किरात नामको सम्मान राज्यले गर्नु पर्दछ ।

३) खोला, नाला, वन जंगल, हिमालजस्ताका नामबाट प्रदेशको नाम राखिए राष्ट्रिय पहिचान बोकेको त्यस भेगको मानव इतिहास, मानव सभ्यता र भुगोलको ईतिहास तथा राष्ट्रकै ईतिहास समेत नामेट हुने भएकोले किरात नामकरण गरिनु पर्दछ ।

४) नेपालका प्रमूख पार्टीहरूले उठाउँदै आएको “बहुपहिचानको आधारमा नामाकरण गर्ने” र ‘पहिचान भेटिने, द्वन्द्व मेटिने’ जस्ता नारालाई सार्थक बनाउनसमेत किरात प्रदेश सबैको साझा र सर्वस्वीकार्य नाम हुनेछ ।

५) नेपाल राष्ट्रको सुन्दर पक्ष भनेको नै यस देशको सांस्कृतिक, भाषिक, भौगलिक र ऐतिहासिक विविधता हो, यिनै विविधतालाई सम्बोधन गरी सबैलाई भावनात्मक एकताको सुत्रमा गाँस्दै आपसि सह(अस्तित्वलाई स्थापित गर्ने कार्यको थालनी गरी, राष्ट्रियतालाई बलियो बनाउने अभियानमा होमिनको लागि पनि किरात प्रदेश नाम राख्ने मागलाई सम्बोधन गर्न अपरिहार्य छ ।

६) विगतमा भएका सम्झौताहरुलाई कार्यन्वयन गर्न, पहिचानको माग राख्ने आन्दोलनरत सामाजिक संघ संस्था तथा राजनितिक दलहरुको मागलाई समेत किरात नामले सम्बोधन गर्ने भएकोले किरात नाम एउटा स्थाई शान्तीको कडी वा उदाहरण बन्नेछ ।

                                        ..............
                                          दिवश राई
                                           अध्यक्ष

प्रकाशित : १८ बैशाख २०७६, बुधबार ००:००