२८ कार्तिक २०८१, बुधबार । November 14, 2024

समाचार

नयाँ पुस्ताका आलुको बीउ उत्पादन



काभ्रेपलाञ्चोक । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ ।

वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताए । उहाँले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए ।

आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ । पाण्डेले भने, “रोपिएको बिरुवाबाट फलेको आलु पूर्व मूल बीउ बन्दछ, त्यसलाई पनि रोपेर फलाइएपछिको मूल बीउ हो ।

यो मौसममा रोपिएको तीन हजार ४४० बिरुवाबाट करीब २५ हजार दाना आलुको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको केन्द्रप्रमुख पाण्डेले बताए । उहाँका अनुसार अहिले जनकदेव र कार्डिनल जातको आलुको बीउ उत्पादन भइरहेको छ । एउटा बिरुवामा सातदेखि १० दानासम्म फल्ने गर्दछ ।

यहाँ उत्पादन गरिएको आलुको नयाँ बीउ किसान तथा बीउ बिक्रेतालाई दिइनेछ । उत्पादित प्रिबेसिक नयाँ आलुको बीउ दानाको गन्तीमा बिक्री गरिने पाण्डेले बताउनुभयो । केन्द्रले पाँच खाल उपत्यकामा विस्तारै आलुको बीउ परिवर्तन गर्दै जाने योजना बनाएको छ ।

प्रकाशित : ११ चैत्र २०७५, सोमबार ००:००