2019-02-22 19:00
बेइजिङ, १० फागुन (रासस÷एएफपी) ः साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शुक्रबार चिनियाँ राष्ट्रपति सि जिनफिङसँग भेटवार्ता गर्नुभएको छ ।
पत्रकार जमाल खशोग्जीको हत्याको आरोप लागेपछि विवादमा पर्नुभएका युवराज सलमानले दक्षिण एसियाली मुलुकहरुको भ्रमण गर्ने क्रममा चीन आइपुग्नुभएको हो ।
उहाँ बिहीबार चीनको राजधानी बेइजिङ आइपुग्नु भएको समाचारमा जनाइएको छ । यसअघि उहाँले पाकिस्तान र भारतको भ्रमण गरिसक्नुभएको छ ।
सलमान र सीबीचमा केही महत्वपूर्ण सम्झौताहरुसमेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
युवराज सलमानले चिनियाँ उपप्रधानमन्त्री हान झेङलाई भने शुक्रबार विहानै भेट्नु भएको थियो ।
“साउदी युवराजको त्यस क्षेत्रको भ्रमणले पूवी क्षेत्रलाई उहाँले प्राथमिकतामा राख्नु भएको छ भन्ने संकेत गर्दछ,” अरब मामिलाका एक जना विश्लेषक नाजाहाल ओताइबीले एएफपीसँग भन्नुभयो ।
साउदी राजपरिवारका कटु आलोचक पत्रकार खशोग्जीको गत अक्टोबरमा इस्तानबुलस्थित साउदी कन्सुलेटमा हत्या भएको थियो । सो हत्यामा साउदी राजपरिवारकै संलग्नता रहेको धेरैले आरोप लगाउदै आएका छन् । तर साउदी राजपरिवारले भने आरोपको खण्डन गरेको छ ।
खशोग्जीको हत्या प्रकरणलाई लिएर अमेरिका लगायतका देशहरुले साउदी अरबका विरुद्धमा विश्वव्यापी रुपमा साउदी अरवलाई एक्ल्याउने र आलोचना गर्ने प्रयास गरेका छन् ।
अमेरिका पक्षधर देशहरुले यस्तो प्रयास गरिरहेका बेला राजकुमार सलमानले अमेरिकाको प्रतिश्पर्धी मानिने चीनको भ्रमण गर्नु भएको हो । यसलाई कुटनीतिक क्षेत्रमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया