१७ कार्तिक २०८१, शनिबार । November 2, 2024

Uncategorized

 रङ्गशाला र चिडियाखाना बन्ने



भक्तपुर, २९ पुस,प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सूर्यविनायक नगरपालिका आगामी चार वर्षभित्र नमूनाको नगरपालिका बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिकाको चौथो नगरसभाको आज उद्घाटन गर्दै उहाँले सूर्यविनायक नगर क्षेत्र विकासमा निकै अगाडि लम्किसकेको बताउनुभयो ।

पूर्वउद्योगमन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले सूर्यविनायकको गाउँगाउँलाई आन्तरिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने उल्लेख गर्दै यो नगरलाई धार्मिक परिपथ एवं धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

“यातायातको सहज पहुँच हुनेगरी सडक विस्तार गर्ने, झोलुङ्गे पुलदेखि सुरुङ मार्ग एंव मानव निर्मित तलाउसम्मको निर्माण गर्ने र अन्तर्राष्ट्रिय रङ्गशालादेखि प्राणी उद्यानसम्म सूर्यविनायकमै निर्माण हुन लागेकाले यस क्षेत्रको मुहार चाँडै फेरिन्छ”, उहाँले भन्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले ‘समृद्ध सूर्यविनायक, सुखी नगरवासीको’ नारा सार्वजनिक गर्दै नगरपालिकाको तेस्रो नगर सभामा तय गरिएको ‘पर्यटन, कृषि, शिक्षा र पूर्वाधार सूर्यविनायक समृद्धिको मूल आधार’ भन्ने दृष्टिलाई साकार बनाउन आवश्यक रणनीतिक योजना सार्वजनिक गर्नुभयो ।

उहाँले पूर्वाधारको विकासमार्फत पहुँच अभिवृद्धि, सामाजिक विकासमार्फत समाजको रुपान्तरण, आर्थिक समृद्धि, वातारवण संरक्षण तथा विपद् व्यवस्थापन, सार्वजनिक सेवा तथा क्षमता विकास, प्रभावकारी न्याय सम्पादन, आन्तरिक राजश्वको सुदृढीकरणलगायत रणनीति नगरपालिकाले अवलम्बन गरेको जानकारी दिनुभयो ।

प्रकाशित : २९ पुस २०७५, आइतबार ००:००