मस्को, २७ पुस । जापानका विदेश मन्त्री तारो कोनो अर्को हप्ता रुसको भ्रमणमा आउने हुनुभएको छ ।
रुसी समकक्षी सेर्गेइ लाभरोभसँग उहाँले विवादित चार भूभागको बारेमा छलफल गर्नुहुने रुसको विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।
रूस र जापानका बीचमा दोस्रो विश्वयुद्धपछि अहिले सम्म पनि कुनै शान्ति सम्झौता हुन सकेको छैन ।
सिमानामा पर्ने कुरिल्सलाई रूसले आफ्नो क्षेत्रमा पर्ने भूभागको रुपमा दावी गर्दै आएको छ भने जापानले पनि आफ्नो उत्तरी राज्यको रूपमा दावी गर्दै आएको छ ।
रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिज जाखारोभले भन्नुभयो, “पहिलो चरणमा रुस र जापानका बीचमा रहेका समस्या समाधान गर्न शान्ति सम्झौता गर्ने बारेमा छलफल हुनेछ ।”
उहाँहरूका बीचमा आउँदो सोमबार छलफल हुनसक्ने पनि प्रवक्ता जाखारोभले बताउनुभयो । उहाँले दुई देशका बीचमा हुन लागेको सम्झौताका बारेमा जापानी सञ्चार माध्यमहरूले गलत भूमिका खेलेको आरोप पनि लगाउनुभयो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जापानी प्रधानमन्त्री सेन्जो आवेबीच गत नोभेम्बरमा भेटवार्ता भएको थियो । सो भेटका क्रममा उहाँहरुले दोस्रो विश्वयुद्धको विवादहरुलाई अन्त्य गर्न औपचारिक रुपमा छलफल गर्ने र सन् १९५६ मा भएको संयुक्त घोषणापत्रमा टेकेर सम्झौताको प्रक्रियालाई अगाडी बढाउने सहमति गर्नुभएको थियो ।
प्रतिक्रिया