कञ्चनपुर, २६ पुस ( शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजदेखि चरा गणनाको कार्य शुरु गरिएको छ ।
चरा गणनाका लागि १५ जनाको टोली परिचालन गरिएको छ । निकुञ्जभित्रको वन क्षेत्र, तालतलैया, सिमसार क्षेत्र, खोला, नदी र घाँसे मैदानमा चराको गणना हुन लागेको हो ।
निकुञ्जमा परिणत भएपछि पहिलोपटक हुन लागेको चरा गणनाको कार्य निकुञ्जको पूर्वी सेक्टरबाट शुरु गरिएको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले बताउनुभयो ।
“पहिलो चरणमा पूर्वी सेक्टरका कालीकिच, चौधर नदी, हिरापुरफाँटा, बेलडाँडी वन क्षेत्र, ताराताल, सनबोरा, स्याली नदी नजिकका क्षेत्रमा गणनको कार्य हुनेछ”, उहाँले भन्नुभयो, “निकुञ्जलाई पाँच वटा भागमा विभाजन गरी तीन÷तीन जनाको समूहमा रहेका गणकले दुई दिन लगाएर चराको गणना गर्नेछन् ।” निकुञ्जमा चरा गणना एक सातासम्म जारी रहनेछ ।
त्यसपछि सोही टोलीले निकुञ्जको शुक्लाफाँट, महाकाली नदी, सिकारी ताल, रानीताल, सलगौँडीताल, बाबा ताललगायतका ताल र सीमासार क्षेत्रसँगै वन क्षेत्रमा चराको गणना गर्नेछ । चरा गणनाका लागि वाइनाकुलर र विशेष प्रकारको क्यामेराको प्रयोग भइरहेको अधिकृत पौडेलले बताउनुभयो ।
यस कार्यमा निकुञ्ज, राष्ट्रिय प्रकृति कोष, नेपाल पक्षी विद्वान सङ्घ, कोशीटप्पु पक्षी समाज, नेचर गाइड र हिमाल नेचर जेडएसएल नेपाललगायतका संस्थाका प्रतिनिधि संलग्न छन् । गणनासँगै बासस्थान, आहारा र अवस्थाकाबारे अनुसन्धान गरिने बताइएको छ ।
सन् २०१२ पछि दोस्रो पटक निकुञ्जमा चरा गणना हुन लागेको हो । नेपालमा चरा गणना सन् १९८७ देखि शुरु भएको हो । नेपालमा ८७७ प्रजातिका चरा पाइने गरेका छन् । शुक्लाफाँटामा मात्र ४२३ प्रजातिका चरा पाइने गरेका छन् । जसमध्ये १९ प्रजातिका चरा दुलर्भ प्रजातिका रहेको निकुञ्जले जनाएको छ ।
जलपक्षी गणना सम्पन्न
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणना सम्पन्न भएको छ । विशेषज्ञको सहयोगमा चार दिन लगाएर जलपक्षी गणना गरिएको हो ।
निकुञ्जको रानीताल, सलगौडी, कालीकिच, तारा, सिकारी र बाबा ताल तथा महाकाली नदीलगायतका ताल र सीमसार क्षेत्रमा जलपक्षी गणना गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले बताउनुभयो ।
उहाँका अनुसार सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले शुक्लाफाँटामा जलपक्षीको सङ्ख्याप्रति वर्ष बढ्दो क्रममा छ । उत्तरी धु्रवमा चिसो बढेपछि चिसो छल्नका लागि बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, ताल तलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्दछन् । जलपक्षी गणनाको नतिजा चरा गणना सकिएपछि संयुक्तरुपमा सार्वजनिक गरिने उहाँको भनाइ छ ।
गत वर्षको जलपक्षी अनुगमनमा ५८ प्रजातिका तीन हजार ६४१ वटा जलपक्षी फेला परेका थिए । सिमसार क्षेत्रमा बच्चा कोरलेर जलपक्षी चैतदेखि जेठ महीनासम्म पुनःसाइवेरिया लगायतका क्षेत्रमा फर्कने गरेका छन् ।
–––
प्रतिक्रिया