काठमाडौँ, २५ भदौ । नेपालमा स्थापित सबैजसो पुस्कारको नालीबेली समेटिएको ‘नेपाली पुरस्कारको इतिहास’ पुस्तकको आज विमोचन गरिएको छ ।
साहित्यकार डिल्लीराम मिश्रद्वारा लिखित उक्त पुस्तकमा पुरस्कारको परिभाषा तथा समाज रुपान्तरमा यसको भूमिका, पुरस्कार तथा विभूषणको ऐतिहासिक विहङ्गावलोकनसहित झण्डै १४० शीर्षकमा विभिन्न पुरस्कारका बारेमा विवेचना गरिएको छ ।
डा नीतिका मिश्र प्रकाशक रहनुभएको उक्त पुस्तकको मूल्य रु एक हजार ५९५ तोकिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी, राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र प्राडा वासुदेव त्रिपाठीले संयुक्तरुपमा यहाँ आज आयोजित कार्यक्रममा उक्त पुस्तकको विमोचन गर्नुभएको हो ।
तनहुँ वाङ्मय समाजले आयोजना गरेको विमोचन कार्यक्रममा शताब्दी पुरुष जोशीले लेखकको उक्त कृति पठनयोग्य र ज्ञानवद्र्धक भएको बताउनुभयो ।
आयोगका अध्यक्ष शर्माले यस किसिमको कृति वाङ्मयको क्षेत्रमा युगान्तकारी र प्रेरणादायी हुने बताउनुभयो । प्रा डा त्रिपाठीले पक्षग्राहिता र विचलन अन्तर्राष्ट्रिय मानवस्तरीय समेतको हाराहारीमा रहि नेपाली पुरस्कारको चयन होस् भन्ने भाव पुस्तकमा व्यक्त गरिएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया