सुरुङ्गा (झापा), २२ भदौ । झापाको शिवसताक्षी नगरपालिकामा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल सताक्षीधाम क्षेत्रभित्रका विभिन्न संरचना संकटमा परेका छन् ।
लगातरको वर्षापछि आएको बाढीले यहाँका ऐतिहासिक तथा धार्मिक महत्वका संरचना भत्काएकाले सताक्षीधामको अस्तित्व नै संकटमा पर्न थालेको हो । त्यहाँ रहेका साधुसन्तका अनुसार खोलाले जमिन कटान गर्दा सताक्षीधाम परिसरमा रहेको हरिवेद विद्यालय र मठमन्दिर संकटमा परेका छन् । सताक्षी खोलाको शिर छाँगामा अवस्थित पञ्चमुखी शिवको मन्दिरमा प्रतिस्थापित मूर्ति खोलाले बगाउँदा पनि अहिलेसम्म संरक्षणमा कसैको ध्यान गएको छैन ।
खोलाको दुवैपट्टिको भागमा पहिरो गएकाले सताक्षीधामको आकर्षण मानिएका गुफा, बिरेनूनको स्वाद र बासना भएको नुनिलो पानी तथा देवीदेवताका र नागका आकृतिसहितका शिला पुरिएको स्थानीयवासी सरोज भट्टराईले बताउनुभयो । उहाँका अनुसार यहाँका ऐतिहासिक धरोहरहरु नै संकटमा परेको पाइए पनि अहिलेसम्म कसैले चासो दिएका छैनन ।
खोलाको माथिल्लो भाग झरनासम्म जाने बाटोसमेत भत्किएकाले भक्तजन दर्शन गर्न जान सक्ने अवस्था नरहेको धाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले बताउनुभयो । उहाँले भन्नुभयो, “धाम क्षेत्रभित्र ठूलो क्षति भएको छ, खानेपानीको पाइपसमेत खोलाले बगाउँदा धामवासीलाई पानी पीउन नै समस्या परेको छ ।
प्रतिक्रिया