पोखरा, २२ भदौ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, माटेपानी, पोखराले बुधबार यहाँ महिला तथा बालबालिका हिंसाविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
विभिन्न क्षेत्र सम्बद्ध १११ जनाको सहभागिता रहेको कार्यक्रममा अधिवक्ता इन्द्रप्रसाद बराल र भुवन पराजुलीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा पोखरालेखनाथ महानगरपालिका–१३ का वडाअध्यक्ष दर्शन लामाले समाजमा हुने सबै खाले हिंसा अन्त्य गरिनुपर्नेमा जोड दिँदै त्यसमा सरोकारवाला सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
वडा प्रहरी कार्यालय, रामबजारका प्रहरी नायब निरीक्षक चेतनाथ पौडेलले सामाजिक सचेतनाको अभावमा समाजमा अझै पनि हिंसाका गतिविधि कायम रहेको बताउँदै सचेतना एवं जागरणमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, माटेपानीका अध्यक्ष कृष्णप्रसाद आचार्यले समृद्ध समाज निर्माण गर्नका लागि सबै खाले हिंसा अन्त्य हुनु अपरिहार्य भएको बताउनुभयो ।
कार्यक्रममा भुजुङ तमु समाजकी उपाध्यक्ष मीना गुरुङ, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा, माटेपानीका उपाध्यक्ष बलबहादुर कार्की तथा सचिव मीरादेवी आचार्य तथा कार्यक्रम संयोजक शान्तिदेवी सिग्देललगायतले कुनै पनि रुपमा हुने महिला तथा बालबालिका हिंसाका गतिविधिलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया