इनरुवा, २० भदौ । सुनसरीको हरिनगरा गाउँपालिकाको रामनगर भुटहा र हरिनगरालाई जोड्ने एकमात्र बाटोका रुपमा रहेको इनरुवा—हरिनगरा सडकखण्डको रामनगर भुटहामा बाटो बगाउँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ ।
केही दिन अगाडि आएको बाढीका कारण बाटो बगाउँदा स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको यात्रु राजेन्द्र मेहताले बताउनुभयो ।
प्रत्येक वर्ष वर्षाको समयमा दुई गाउँ जोड्ने पुल र बाटो बाढीले बगाउँदै आएकाले स्थानीयवासी मारमा पर्दै आएका छन् । अहिले बाटो बगाउँदा स्थानीयवासी जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् । स्थानीयवासीले वैकल्पिक व्यवस्था गरिए पनि त्यो अल्पकालीन मात्रै हुने भएकाले स्थानीयवासी वैकल्पिक बाटोमा जोखिम मोलेर आवतजावत गर्न बाध्य भएको स्थानीयवासी नसिम अन्सारीको भनाइ छ ।
सुनसरी खोलामा आएको बाढी मरिया खोलामा पसेपछि हरिनगरा र भुटाहा जोड्ने बाटो तथा पुल बगाएकाले सो क्षेत्रका बालबालिका विद्यालय जानसमेत वञ्चित भएका छन् । बाटो नहुँदा एम्बुलेन्स, दमकल, प्रहरीलगायतका अतिआवश्यक सवारी साधनसमेत ५० किमी घुमाउरो बाटो भएर आवतजावत गर्नुपरेको छ । टाढाको बाटो एम्बुलेन्स प्रयोग गर्दा बिरामीले अकालमा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्थानीयवासी मौजमिल अहमदले बताउनुभयो ।
यता हरिनगरा गाउँपालिकाका सहलेखापाल समिम अंसारीले पुल निर्माणका लागि सर्भे भइसकेको बताउँदै आउँदो आवको बजेटमा एकसय मिटरको पुल निर्माण गर्ने गाउँपालिकाको योजना रहेको बताउनुभयो ।
पुल र बाटोका कारण प्रत्येक वर्ष समस्याको सामना गर्दैै आएका स्थानीयवासीको समस्यालाई मध्यनजर गरेर त्यो ठाउँमा पुल निर्माण गर्नु अहिलेको आवश्यकता देखिन्छ ।
प्रतिक्रिया