२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

मुख्य खबर

आदिवासी जनजाति मन्त्रीलाई सम्मान



काठमाडौँ, १६ भदौ । नेपाली काँग्रेस निकट नेपाल आदिवासी जनजाति सङ्घले सो समुदायको प्रतिनिधित्व गरी सरकारमा सहभागी मन्त्री तथा राज्यमन्त्री बनेका नेतालाई आज सम्मान तथा शुभकामना व्यक्त गरेको छ ।

सानेपास्थित विपी नगर केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, सिँचाइ राज्यमन्त्री अमरसिंह पुन, कानून, न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङलाई सम्मान गरिएको हो ।

संघका अध्यक्ष इन्द्रबहादुर गुरुङले विगतमा नेपाली काँग्रेसको नेतृत्वको सरकार गठन हुँदा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठान गठन गरिएको बताउँदै आफ्नो दल आदिवासी जनजातिको अधिकार तथा पहिचान संरक्षणको पक्षमा रहेको बताउनुभयो । उहाँले राज्य पुनःसंरचना आयोगमा सो समुदायको प्रतिनिधित्व नगराएकामा भने गुनासो गर्नुभयो ।

युवा तथा खेलकुद राज्यमन्त्री चौधरीले मुलुकमा राम्रा खेलाडी उत्पादन गरी अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिँचाइ राज्यमन्त्री पुनले सो समुदायको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी हुने मौका पाएकाले उनीहरुको शिर उँचो हुने गरी विकास निर्माण कार्य गर्ने बताउनुभयो ।

कानून तथा न्याय राज्यमन्त्री पाख्रिनले मुलुकमा सो समुदाय ३७ प्रतिशत रहेको भए पनि राज्यका विभिन्न निकायमा समावेशी प्रतिनिधित्व हुन नसकेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

भौतिक योजना तथा यातायात राज्यमन्त्री गुरुङले सो समुदायका हक हितलाई संरक्षण गर्न एकताको खाँचो औँल्याउँदै जनताको सेवाको भावनालाई केन्द्रमा राखेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ, रक्षामन्त्री भीमसेनदास प्रधान र श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरी भने अनुपस्थित हुनुहुन्थ्यो ।

प्रकाशित : १६ भाद्र २०७४, शुक्रबार ००:००