काठमाडौँ, १५ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनका कारणले मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नरोकिने स्पष्ट पार्नुभएको छ ।
मन्त्री थापाले आज यहाँ आयोजित कार्यक्रममा निर्वाचन आयोगलाई ढुक्क भएर आफ्ना तयारी गर्न अनुरोध गर्दै केही समय ढिला भए पनि कानुन समयमै आउने छ भन्नुभयो । “संविधानको कार्यान्वयन र निर्वाचन अहिलेको प्राथमिकता रहेकाले आवश्यक कानून निर्माणमा मन्त्रालय सक्रिय रुपमा लागिपरेको छ, कानूनकै कारण निर्वाचन रोकिने स्थिति आउँदैन, निर्वाचन पनि रोकिनेवाला छैन”, मन्त्री थापाले भन्नुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता टोपबहादुर रायमाझीले आगामी निर्वाचनका लागि आफ्नो दलले सबैसँग सहकार्य गर्ने बाटो खुला राखेको बताउँदै छलफल गरेर कुन दलसँग सहकार्य गर्ने भन्ने कुराको छिट्टै टुंगो लगाउने जानकारी दिनुभयो । राप्रपाका नेता दिलनाथ गिरीले आवश्यकता परेमा स्थानीय निकायका कार्यकर्ताको सुझावअनुसार केन्द्रले चुनावमा तालमेल गर्ने बताउनुभयो ।
प्रतिक्रिया