१ चैत्र २०८१, शनिबार । March 15, 2025

मुख्य खबर

लार्चाको बेलिवृज निर्माणमा पहिरो बाधक



चौतारा, १५ भदौ । तातोपानी नाका जोड्ने लार्चाको पक्की पुल बगाएपछि बेलिवृज निर्माणमा विभिन्न अवरोधका कारण काममा ढिलाइ भएको छ ।

सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा दैनिक जसो भारी वर्षा, माथिबाट ढुंगा खस्ने समस्या र पहिरो खस्ने गरेका कारण यातायात सञ्चालनमा अवरोध हुने गरेको छ ।

पुलको जग तयार गर्ने क्रममा ठूला ठूला ढुंगा निस्किएको र मेसिनले समेत फोर्न नसकेपछि झण्डै दश दिन लगाएर स्थानीयवासीले घन तथा छिनाद्वारा फुटालेको इञ्जिनियर शीला न्यौपानेले जानकारी दिनुभयो । जग हाल्ने काम बिहीबारबाट शुरु हुने उहाँले बताउनुभयो ।

“दुबैतर्फ जगमा कडा चट्टानले अवरोध नपु¥याएको भए बेलिवृज जडान गर्न १५÷२० दिनभन्दा बढी लाग्दैनथ्यो,” न्यौपानेले भन्नुभयो– “जस्तै अवरोध आए पनि दसंै अगाडि काम सक्ने लक्ष्य लिएका छौँ ।”

दैनिक पानी परिरहेकोले माथिबाट ढुंगा खस्ने समस्यालाई समेत झेल्दै जोखिमपूर्ण तरिकाले काम गरिरहेको र बगाएको सडकलाई समेत बनाएर यातायात खुलाउने काम भइरहेको इञ्जिनियर न्यौपानेले बताउनुभयो । सो स्थानमा पुग्न अरनिको राजमार्गको विभिन्न ठाउँमा गएको पहिरोको सामना गर्नुपर्ने हुन्छ ।

गएको साउन आठ गते चट्टानसहितको पहिरोले ७० मिटर लामो फुल्पिङकट्टीको र तातोपानी जोड्ने भोटेकोशी नदीको पक्की पुल बगाएको थियो । विसं २०३८ मा बाढीले बगाएपछि करिब दुई वर्षपछि सोही स्थानमा चीन सरकारले पुल निर्माण गरेको हो । तातोपानी नाका जोड्ने उक्त पुल बगाएपछि त्यहाँका करिब दुई हजार ५०० भन्दा बढी परिवारले सास्ती व्यहोर्नु परेको थियो ।

हाल त्यहाँ तुइनको साथै फलामे फड्के समेत राखिएको छ । सो ठाउँमा ७० मिटर लामो बेलिवृज राख्नुपर्ने भए पनि बाहिरबाट झिकाउन समय लाग्ने हुँदा सडक विभागसँग मौज्दात रहेको ५० मिटर मात्र लामो बेलिवृज राख्न लागिएको बताइएको छ ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००