२८ माघ २०८१, सोमबार । February 10, 2025

मुख्य खबर

आसमान नेपालद्वारा तीनहजार बाढीपीडितलाई राहत



राजविराज, १५ भदौ । सप्तरीमा हालै आएको बाढीबाट विस्थापित एवं प्रभावित क्षेत्रमा आसमान नेपालले तीन हजारभन्दा बढी बाढीपीडितलाई राहत वितरण गरेको छ । 

वल्डवाईड कनसल्ट तथा पिपुल इन निडको सहयोगमा आसमान नेपालले सप्तरीकोे हनुमानगर कंकालनी नगरपालिकाको वडा नं ५, ६, ७, ८, ९ र वडा नंं २ सकरदही, राजविराज नगरपालिकाको वडा नं ९ मलेठ र तिलाठी कोइलाडी गाउँपालिकाको सकरपुरालगायतका ठाउँमा करिब तीनहजार २०० बाढीपीडितलाई विभिन्न खाद्यान्न सामग्रीसहित राहत वितरण गरिएको आसमान नेपाल सप्तरीका संयोजक श्रवणकुमार देवले जानकारी दिनुभयो ।

उनीहरुमा प्रतिपरिवारलाई ३० केजी चामल, पाँच केजी दाल, एक केजी नुन, दुई केजी खानेतेल, दुई केजी चिनी, एक÷एक थान बाल्टिन र मग तथा एक थानका दरले झुल, दुई÷दुई थानका दरले नुहाउने साबुन र लगाउने साबुन तथा एकथान सेनिटरी प्याडलगायतका सामग्री वितरण गरिएको बताइएको छ ।

यस्तै, दलित जनजागरण सेवा समितिले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका गर्भवती तथा प्रसूति महिलालाई राहत वितरण गरेको छ ।

दलित जनजागरण सेवा समितिको आयोजना तथा वातावरणीय कृषि तथा विकास केन्द्र (केड) काठमाडौँको सहयोगमा कोइलाडी बसाईन चौकीमा आयोजित कार्यक्रममा सो गाउँपालिका वडा नम्बर १ देखि ९ का गर्भवती तथा सुत्केरी महिलालाई एक बोरा मुरही (भुजा) वितरण गरिएको छ ।

त्यस्तै, एकथान प्लाष्टिक, एकथान बाल्टिन, एक थान सुपानेट झुल, एकथान साबुन, एक थान ब्रस र पेष्ट र बदामको सत्तु आधा किलो तथा एक थान तन्ना, एक थान गम्छा बच्चाको भोटो एक थान, बेबी ब्ल्यांकेट एक थान तथा १३ घरधुरी दलित परिवारलाई छ बोरा चामलसमेत वितरण गरिएको बताइएको छ ।

तिलाठी कोइलाडीका १३१ जना गर्भवती र ४० जना सुत्केरी महिला तथा एकजना अपांग बालिका गरी १७२ जनालाई राहत वितरण गरिएको दलित जनजागरण सेवा समितिका अध्यक्ष जितु रामले जानकारी दिनुभयो ।

प्रकाशित : १५ भाद्र २०७४, बिहिबार ००:००