२९ माघ २०८१, मंगलबार । February 11, 2025

मुख्य खबर

चुनावी नारासहित दलहरु गाउँगाउँमा



लहान, १२ । तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सिरहामा दलका नेताहरु कार्यकर्ता आआफ्ना चुनावी नारासहित गाउँगाउँ पस्न थालेका छन् ।

नेपाली काँग्रेस, (नेकपा एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी, नयाँ शक्तिलगायत दलले जिल्लाव्यापी रूपमा प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन् । सिरहा सदरमुकामसहित मुख्य बजारका चोकहरु अहिले विभिन्न दलका झण्डाले सिंगारिएको छ । दलका कार्यकर्ता मोटरसाइकलमा दलको झण्डा बाँधेर जनताका दैलादैलामा पुग्न व्यस्त छन् ।

चुनावी प्रचार प्रसारसँगै काँग्रेसले जिल्लाका गाउँपालिका र नगरपालिकाका लागि सम्भावित उम्मेदवारको छनोट, अगुवा कार्यकर्ताको प्रशिक्षण तथा नियमित बैठक र छलफललगायत गतिविधि भइहेको काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिनुभयो ।

त्यस्तै एमाले सिरहाले लहान नगरपालिका–१९ सोनामति मझौरा, भदैयालगायतमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक प्रशिक्षण, पार्टी प्रवेशलगायत चुनावी गतिविधि सञ्चालन गरेको एमाले सिरहाका कार्यकर्ता पनि गाउँगाउँमा पुग्न थालेका छन् । एमालेले लहान नगरपालिकाका प्रमुखमा माओवादी केन्द्रबाट आफूमा प्रवेश गर्नुभएका पूर्वनगरप्रमुख मुनी साहलाई उठाउने तयारी गरेको छ ।

यस्तै संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्रले सिरहाको गोलबजार नगरपालिका–८ लबटोली जगतपुर, मुक्सारलगायतमा गाउँस्तरीय भेला सम्पन्न गरेको छ । निर्वाचनलाई लक्ष्य गरी पार्टी प्रशिक्षण, स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने आकांक्षीहरुको सूची तयारी तथा बैठक र छलफल नियमित रुपमा भइरहेको पार्टीका केन्द्रीय सदस्य हरिनारायण चौधरी बताउनुहुन्छ ।

निर्वाचनको आन्तरिक तयारीमा जुटेको समाजवादी फोरमले पनि कतिपय स्थानीय तहमा उम्मेदवार तय गरिसकेको तथा बाँकी रहेका स्थानीय तहमा छिट्टै उम्मेवार तय गर्ने सो पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादवले बताउनुभयो ।

यस्तै निर्वाचनमा जाने औपचारिक निर्णय गरिसकेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ता पनि चुनावी नारासहित गाउँगाउँ पुग्न थालेका छन् । करिब २० वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी दलहरु गाउँगाउँ पुग्न थालेपछि ग्रामीण क्षेत्रमा चुनावको चर्चा परिचर्चाले समेत व्यापकता पाएको छ ।

सिरहामा सात नगरपालिका र १० गाउँपालिका रहेका १५८ वडाबाट कम्तीमा ३१६ महिलासहित ८२४ जनप्रतिनिधि चुनिनेछन् । तीन लाख ३१ हजार ५९६ मतदाता रहेको सिरहामा ४२६ मतदान केन्द्र र २१९ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित : १२ भाद्र २०७४, सोमबार ००:००