दमौली, ११ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई लिएर विपक्षी दल एमालेले विभिन्न टीकाटिप्पणी गर्नु गलत भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कारमा काँगे्रसका वरिष्ठ नेता पौडेलले सो कुरा बताउनुभएको हो । “विपक्षी दल एमालेले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर विभिन्न टीकाटिप्प्णी गर्नु गलत कार्य हो”, नेता पौडेलले भन्नुभयो । “यस पटकको प्रधानमन्त्रीको भ्रमण पूर्ण रुपमा सफल भएको छ विरोधका लागि मात्रै एमालेले विरोध गर्नु राम्रो कुरा भएन”, पौडेलले भन्नुभयो ।
एमालेले राष्ट्रियता शब्द र राष्ट्रिय झण्डाको अपमान गर्दै गएकामा काँग्रेसका वरिष्ठ नेता पौडेलले आपत्ति प्रकट गर्नुभयोे । यसलाई एमालेले राष्ट्रघात भयो भन्नु लज्जास्पद अभिव्यक्ति भएको आरोपसमेत नेता पौडेलले लगाउनुभयो ।
“पार्टीको पदपूर्ति नभएको अवस्थामा सल्लाह गरेर जिम्मेवारी दिँदा उपयुक्त हुन्छ भन्ने भनाइ मेरो हो”, पौडेलले भन्नुभयो । प्रदेश नं २ को चुनावमा राजपाले भाग लिनु राम्रो पक्ष भएको पौडेलले बताउनुभयो ।
यसैबीच काँग्रेस वरिष्ठ नेता पौडेलले व्यास नगरपालिका–५ स्थित निर्माणाधीन चिन्तुटार रंगशालाको आइतबार नै निरीक्षण गर्नुभयो । सोही दिन उहाँले सिन्धु मोटरमार्ग, माहेन्द्री मोटरमार्गको निरीक्षण गरी सो बाटोलाई समयमै स्तर वृद्धि गर्न आवश्यक निर्देशन दिनुभयो ।
प्रतिक्रिया