३० माघ २०८१, बुधबार । February 13, 2025

मुख्य खबर

आनन्द बजार नाका सुचारु गर्न पहल भएन



भीमदत्तनगर, ७ भदौ । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ स्थित आनन्दबजार नाका पाँच महिना बितिसक्दा पनि सामान्य बन्न सकेको छैन ।

गत फागुन २६ गते भारतीय सुरक्षाकर्मीको गोली लागेर शाहादत प्राप्त गर्नुभएका पुनर्वासका शहीद गोविन्द गौतमको निधनपछि नेपाल–भारत आनन्दबजार नाका ठप्प थियो । तर घटना घटेको ६ महिनाभन्दा बढी समय बितिसक्दा पनि उक्त नाकाबाट नेपाल तथा भारतीय नागरिकले हिँडडुलसमेत गरेका छैनन् ।

सीमा नाकामा रहेको अस्थायी कल्र्भट निर्माणका विषयलाई लिएर घटना भएको थियो । घटनाका बेला केही दिन असुरक्षाका लागि स्थानीय प्रशासनले उक्त नाकाबाट आवागमन रोकेको थियो । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले आनन्दबजार नाका अझै पूर्णरुपमा प्रभावित रहेको बताउनुभयो ।

‘यहाँका फटँैयालगायतका अन्य नाका भने सञ्चालनमा आएका छन् ।’ उहाँले भन्नुभयो–“तर आनन्द बजारको नाका अझै सामान्य बनिसकेको छैन ।” सो नाका सुचारु नहुँदा सीमावर्ती भारतीय बसही बजार सबैभन्दा बढी प्रभावित बन्न पुगेको छ ।

बसही बजारमा किनमेलका लागि जाने स्थानीयवासी घटनापछि धनगढी, बेलौरी, भीमदत्त नगरलगायतका बजारमा किनमेलका लागि जाने गरेका छन् ।

नेपाल–भारतका स्थानीय प्रशासनस्तरमा नाका सहज बनाउने विषयमा पहल गर्ने छलफल चले पनि समाधान भने भएको छैन । नाका असहज बन्दा व्यापारसमेत प्रभावित बनेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले घटनाका बेला तत्काल असहज अवस्था आउन नदिन नाका बन्द मात्रै गरिएको जानकारी दिनुभयो । “अहिले स्थानीय प्रशासनले नाका बन्द गर्नु, नखोल्नु भनेको छैन ।”

प्रजिअ खनालले रासससित भन्नुभयो–“स्थानीयस्तरमा गठन भएका संघर्ष समितिले नाका बन्द गर्ने लिखित निर्णय गरे ।” उहाँले उक्त संघर्ष समितिका अगुवालाई नाका खुलाउन पहल गर्नका लागि लिखित निर्णय गरेर ल्याउन सुझाएको बताउनुभयो ।

‘लिखित निर्णय गरेर ल्याउन मैले आग्रह गरेको छु ।’ खनालले भन्नुभयो–“त्यसपछि भारतीय पक्षसित समन्वय गर्न सकिन्छ ।” उहाँले विवादपछि नेपाल–भारत सयुक्त सर्वे टिमले पुनर्वास क्षेत्रमा फिल्ड सर्वे गरेको जानकारी दिनुभयो । “सर्वेको काम अहिले पूरा भइसकेको छैन ।”

उहाँले भन्नुभयो–“वर्षाका कारण फिल्डमा समस्या हुने भएकाले स्थगन मात्रै भएको हो ।” उहाँले पुनः सर्वे सुचारु हुनेमा आशावादी रहेको बताउनुभयो ।

त्यसैगरी नाका सुचारु गर्नेबारे पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले नाका सुचारु गर्न पहल गरिदिन भन्दै स्थानीयवासी आफू कहाँ आएको बताउनुभयो ।

भारतीय पक्षले पनि नाका सुचारु गर्न पुनर्वास नगरपालिकामा पत्राचार गरेको जानकारी दिनुभयो । ‘केही समयअघि सीमावर्ती भारतीय क्षेत्रबाट नाका खुलाउन पहलभयो हामीले चाँसो दिएनौँ ।”

नगरपालिकाका प्रमुख थापाले भन्नुभयो–“अहिले पनि नाका खुलाउने बारे केही पहल भएको छैन ।” उहाँले केही समयअघि आनन्द बजारवासीले नाका सुचारु गर्न माग गरेको जानकारी दिनुभयो ।

आनन्द बजारवासी भने अझै पनि घटनाको विषयलाई लिएर भारतीय पक्षले माफी माग्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित : ७ भाद्र २०७४, बुधबार ००:००