भक्तपुर, ४ भदौ । भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध धर्मावलम्बीको महत्वपूर्ण एवं ठूलो पर्वका रूपमा दीपंकर बुद्धको परिक्रमा गराई भव्यरूपमा मनाइने पञ्चदान पर्व भक्तपुर र मध्यपुरथिमिमा मनाइएको छ ।
भक्तपुरको सूर्यमढीबाट सुरु भएको पञ्चदान पर्व एवं भक्तपुरका विभिन्न स्थानमा रहेका दीपंकर बुद्धलाई नगर परिक्रमा गरी थथुवहीस्थित भूइखेलमा ल्याई बौद्ध धर्मावलम्बीको धार्मिक विधिअनुसार पूजाआजा गरी पाँच दीपंकर बुद्धलाई पूजा गरिएको हो ।
पाँच बुद्धका रूपमा दीपंकर भनी पुजिने बुद्धको पाँच स्वरूपमध्ये पाँच विहार भक्तपुरको प्रमुख क्वाठन्डौँको प्रशन्नशील महाविहार, गोल्मढीको झौरबही महाविहार, साकोथाको चर्तुब्रह्म महाविहार, भार्वाचोको थथुबही महाविहार र दूधपाटीको कुथुबही महाविहारबाट दीपंकर बुद्धसहितको शोभायात्राले नगरको विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो ।
पाँच बुद्धको प्रतिमूर्तिसहित नगर परिक्रमा गराइएको दीपंकर बुद्धहरुलाई सूर्यमढीको आश्री पदम विहारमा एकै ठाउँमा भेला गरिएको थियो । बिहानैदेखि पञ्चदान दिने परम्पराअनुसार शाक्य, बज्राचार्य र बहाः र बहीका भिक्षुलाई भिक्षा दान दिइएको थियो ।
दीपंकर बुद्धलाई विशेष गरी पञ्चदानका रूपमा चामल, धान, मकै, गहुँ, भटमास, ढिके नुन र पैसा चढाइन्छ । यही अवसर पारी भक्तजनले दीपंकर बुद्धलाई जमिनबाट उत्पादन भएका विभिन्न प्रकारका काँचो खाद्यवस्तु आफ्नो गच्छेअनुसार चढाउने र दान दिने परम्परा रहेको छ ।
बौद्ध धर्मावलम्बीकाअनुसार दीपंकर बुद्धलाई पञ्चदान गरिसकेपछि साना बालबालिकादेखि वृद्धवृद्धासमेतले नगर परिक्रमा गरी पञ्चदान भिक्षा ग्रहण गरेका थिए । बौद्ध धर्मावलम्बीले यस दिनमा भिक्षा ग्रहण गर्नाले धन वृद्धि हुनुका साथै बोधि ज्ञान प्राप्त हुने विश्वास स्थानीयवासी पद्मसुन्दर शाक्यले बताउनुभयो ।
नेपाल संवत् ५१२ मा शिवदेव तृतीयको शासनकालमा पैसा समेत राखेर पञ्चदान पर्वका लागि गुठी सञ्चालन गरिएको ताम्रपत्रमा उल्लेख भएअनुसार यो पर्व ने.स. ५१२ भन्दा अगाडि नै सुरु भएको इतिहासकारहरु बताउँछन् । उहाँले भन्नुभयो– “यस दिनलाई सत्ययुगको उदय भएको दिनको रुपमा मानिन्छ, साथै धानका देवताका रुपमा समेत मानिने भएकाले धान लगायतका अन्नहरु चढाउने र दान दिने प्रचलन छ ।”
बुद्ध धर्ममा दानको महत्व भएकाले यस दिनमा जसले जतिसक्छ त्यति दान दिने मान्यताअनुसार विशेष गरी शाक्य, मानन्धर, बज्राचार्यलगायत नेवार समुदायले दान दिने प्रचलन रहेको छ । बिहान निस्किएको दीपंकर बुद्धहरुको नगर परिक्रमा साँझसम्म चलेको थियो ।
प्रतिक्रिया