१० फाल्गुन २०८१, शनिबार । February 22, 2025

मुख्य खबर

राहतको व्यवस्था गर्न नेमकिपाको माग



भक्तपुर, ३१ साउन । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बाढी पहिरोपीडित जनताको शीघ्र उद्धार, पुनःस्थापना, घाइतेको उपचार र मृतकका परिवारलाई उचित राहत, क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेको छ ।

नेमकिपाले सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको तराई डुबानमा परेको र पहाडी क्षेत्र पहिरोको चपेटामा परेको उल्लेख गर्दै पीडित जनताको उद्धार तथा राहत वितरणमा देशभक्तिपूर्ण भावना प्रदर्शन गर्नसमेत आह्वान गरेको छ ।

पार्टी सचिव प्रेम सुवालले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा केही दिनयता परेको अविरल वर्षाले नेपालको झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, चितवन, पर्सा, नवलपरासी, कञ्चनपुरलगायत जिल्लामा बाढी र डुबान तथा ताप्लेजुङ, इलाम, उदयपुर, धनकुटा, मकवानपुरलगायत जिल्लामा पहिरोले ७० जनाभन्दा बढी मानिसको मृत्यु, दर्जनौँ बेपत्तासहित भौतिक क्षति भएकोतर्फ पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा लक्ष्मणपुर बाँधको कारण बाँकेको राप्तीसोनारी गाउँपालिकाका फत्तेपुर, नरैनापुर, गंगापुर, मटेहिया, टिकुलीपुरलगायतका ठाउँ डुबानमा परेको, रसियावाल खुर्दलोटन बाँधका कारण कपिलवस्तु तथा कोशी बाँधका कारण सुनसरी र सप्तरी जिल्ला जलमग्न भई धनजनको क्षति भएको जनाएको छ ।

त्यसैगरी, झापादेखि कञ्चनपुरसम्मको डुबान र जनधन क्षतिको कारण भारतीय विस्तारवाद र एकाधिकार पूँजीले नेपालको भूमि अतिक्रमण गरी बनाएको बाँध र तटबन्ध भएको नेमकिपाको ठहर भएको जनाउँदै विज्ञप्तिमा ती बाँधको तत्काल अनुगमन गरी भत्काउन आवश्यक पहल गर्नसमेत सरकारसँग माग गरेको छ ।

विज्ञप्तिमा कोशी, गण्डक र महाकाली बाँधमा भारतले ढोका नखोलेका कारण नेपाली भूमि डुबानमा परेको र ठूलो जनधनको क्षति भएको जनाउँदै भारतनिर्मित बाँध र तटबन्धका कारण भएका क्षतिको उचित क्षतिपूर्ति भारत सरकारसँग लिन मागसमेत गरिएको छ ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलबार ००:००