१० फाल्गुन २०८१, शनिबार । February 23, 2025

मुख्य खबर

बेदकोट नपाको बजेट रु ४५ करोड



कञ्चनपुर, ३१ साउन । कञ्चनपुरको बेदकोट नगरपालिकाले चालू आवका लागि रु ४५ करोड बढी बजेट विनियोजन गरेको छ ।

बेदकोट नगरपालिकाको प्रथम नगर सभाबाट रु ४५ करोड ५५ लाख ४४ हजार बजेट विनियोजन गरिएको हो ।

नगर सभाबाट चालू आवको बजेटसहित नीति र कार्यक्रम सर्वसम्मतिले पारित गरिएका छन् ।

नगरपालिकाले विनियोजित बजेटमा संघीय सरकारको वित्तीय समानीकरणअन्तर्गत रु २५ करोड नौ लाख, संघीय सरकारको सशर्त अनुदान रु नौ करोड ९३ लाख र आन्तरिकबाट रु ८० लाख आम्दानी हुने अनुमान गरिएको छ । नगर सभाले सामाजिक सुरक्षाका लागि रु आठ करोड बजेट अनुमान गरेको छ ।

नगर सभाबाट रु १९ करोड १० लाख ६५ हजार पूँजीगत खर्च रु पाँच करोड ५० लाख चालू खर्च पारित गरिएको छ । वडाबाट आएका योजनाका लागि रु तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ । नगर कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरिएको अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिलाउने प्रक्रियाका लागिसमेत रु सात लाख बजेट विनियोजन गरिएको छ ।

बेदकोटमा सबै वडालाई रु ३२÷३२ लाख बजेट विनियोजन गरिएको छ । बेदकोटका प्रमुख अशोककुमार चन्दले वडामा भौतिक पूर्वाधार, स्वास्थ्य चौकी, शिक्षाका लागि वडालाई रु ३२ लाखका दरले बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रमुख चन्दले सामाजिक सुरक्षा, कृषि, वन, स्वास्थ्य, महिला तथा बालबालिका, म्याचिङ फण्ड, विपन्न समुदाय उत्थान, ग्राभेलिङ, सांस्कृतिक क्षेत्र विकास, छाडा पशु चौपाया नियन्त्रणलगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रमुख चन्दले नीति तथा कार्यक्रम र उपप्रमुखले चालू आवको बजेट प्रस्तुत गर्नुभएको थियो । नगरपालिकाले आर्थिक समृद्धि र विकासका लागि ‘एक घर एक सीप, रोजगारीको आधारः समृद्ध बेदकोट नगर समाजवादको पूर्वाधार’ नीति कार्यान्वयन गरिने लक्ष्य लिएको छ ।

प्रकाशित : ३१ श्रावण २०७४, मंगलबार ००:००