१० फाल्गुन २०८१, शनिबार । February 22, 2025

मुख्य खबर

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा : ढुङ्गेधाराबारे जिज्ञासा



ललितपुर, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटन दरबार क्षेत्रमा अवस्थित मल्लकालीन कृष्ण मन्दिरमा आज पूजार्चना गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारी प्रतापधर शर्माबाट टीका तथा प्रसाद ग्रहण गर्नुभयो । सिद्धिनरसिंह मल्लले विसं १६९३ मा शिखर शैलीमा बनाएको सत्रौँ शताब्दीको ढुङ्गै ढुङ्गाको २१ गजुरको सो मन्दिरसँगै रहेको ऐतिहासिक ढुङ्गेधाराको पनि उहाँले अवलोकन गरी त्यसबारे जिज्ञासा राख्नुभएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

मनसुनका समयमा मात्र उक्त ढुङ्गेधारामा पानी आउने र हिउँदमा नआउने बताउँदै प्रमुख महर्जनले आगामी वर्ष राष्ट्रप्रमुखको सवारी हुँदा नियमित पानी आउने व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीलाई महानगरप्रमुख महर्जन र उपप्रमुख गीता सत्याल, सांसद सिद्धिलाल सिंह, चन्द्र महर्जन, उदयशम्शेर राणा र सुशीला नेपाल, प्रजिअ राजकुमार श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००