इनरुवा, ३० साउन । सुनसरीका विभिन्न ठाउँबाट विस्थापित मानिस सदरमुकाम इनरुवाको भगवती मावि, सरस्वती मावि र ज्ञानोदय आधारभूत विद्यालयलगायतका विद्यालयमा शरण लिएर बसेका छन् ।
सुनसरी खोलामा आएको बाढीले घर बगाउँदा र डुबानमा पार्दा विस्थापित भएका करिब एक हजार ५०० स्थानीयवासी विद्यालयमा शरण लिएर बसेका हुन् । आफूहरु तीन दिनदेखि भोकभोकै बस्न बाध्य भएका पीडितले बताएका छन् ।
भोक्राहा गाउँपालिकाको नर्सिंह र भोक्राहाका पीडित इनरुवा र बबिया क्षेत्रमा शरण लिएर बसेको बताइएको छ । पीडितहरु उद्धारपछि राहतको प्रतीक्षामा छन् भने केहीले गाईबस्तु र खसीबोकासमेत लिएर आफन्तकहाँ आश्रय लिन पुगेका छन् । उता बर्जु गाँउपालिकाको अमडुवाका सयौं घर डुवानमा पर्दा हजारौं स्थानीयवासी जोखिममा परेको स्थानीयवासी गौतम चौधरीले जानकारी दिनुभयो ।
चौधरीका अनुसार तीन दिनदेखि अमडुवा क्षेत्रमा स्थानीयवासीले खाना खान पाएका छैनन् । यसैबीच भगवती मावि र ज्ञानोदय निमाविमा रहेका बाढीपीडितलाई कश्यप विद्यापीठले राहत वितरण गरेको छ ।
विद्यालयले चिउरा, भुजा, भुजियालगायतका खाद्य सामग्री वितरण गरेको विद्यापीठका सञ्चालक जीवानन्द झाले जानकारी दिनुभयो । उता दुहवी नगरपालिकाको वडा नं ३ वसन्तपुरका १०० मुसहर परिवार विस्थापित भएर स्थानीय म्याजिक चप्पलको गोदाममा शरण लिई बसेका छन् ।
दुहवी १, ३ र ४ का विस्थापितहरु सरस्वती मावि दुहवी र साहु धर्मशालामा शरण लिएर बसेका छन् ।
हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा समेत स्थानीयवासी विस्थापित भएका छन् । केही ठाउँमा गाउँपालिकाले राहतको काम शुरु गरेको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अंसारीले जानकारी दिनुभयो ।
पूर्वमा विद्युत् आपूर्ति बन्द
नेपाल विद्युत् प्राधिकरण दुहवी ग्रिडको कन्ट्रोल प्यानलमा पानी पसेकाले तीन दिनदेखि सुनसरीसहित कोशी पूर्वका जिल्लामा विद्युत् सेवा अवरुद्ध छ ।
कुशाहा कटैया लाइनको सुनसरीको दुहवी ग्रिडमा छ फिटसम्म पानीको कन्ट्रोल प्यानल, सुइचिंग, ग्रिडसमेतमा पसेकाले तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको हो ।
सुनसरीको दुहवी ग्रिडको कन्ट्रोल प्यानलमा पानी पसेकाले कोशी पूर्वका जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।
ग्रिडमा करिब रु दुई करोड बराबरको क्षति भएको छ । पानी नसुकेसम्म विद्युत् आपूर्ति नहुने दुहबी ग्रिडका प्रमुख अफताव आलमले जानकारी दिनुभयो ।
प्रतिक्रिया