९ फाल्गुन २०८१, शुक्रबार । February 22, 2025

मुख्य खबर

गैरआवासीय नेपाली सङ्घ जापानको अधिकांश पदमा सहमति



टोकियो (जापान), ३० साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको अधिकांश पदमा सहमति भएको छ । दुईवर्षे नया“ कार्यसमितिका लागि आकाँक्षा देखाएका उम्मेदवारबीच आइतबार अध्यक्ष महासचिव र कोषाध्यक्ष पदमा सहमति भएको हो ।

निर्वाचन समितिका अनुसार अध्यक्षका प्रतिस्पर्धी अनुज थापाले अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा जान सहमति जनाएपछि टासीवादी लामा निर्वाचित हुनुभएको छ । निर्वाचन समितिको पहलमा थापाले लामालाई समर्थन गरेको जनाउनुभएको छ ।

बुद्धिराज घिमिरे महासचिवमा निर्विरोध हुनुभएको छ । महासचिवका प्रतिद्वन्द्वी विश्वेश्वर रेग्मीले सहमतिमा घिमिरेलाई समर्थन जनाउनुभएको छ । त्यस्तै कोषाध्यक्षमा कालिका थापा निर्विरोध हुनुभएको छ ।

कोषाध्यक्षको दुई पदमध्ये बाँकी एक पदका लागि दुई जनाबीच सहमति हुन सकेको छैन । वरिष्ठ उपाध्यक्षमा देवीलाल भण्डारी र सहकोषाध्यक्षमा रामबहादुर थापा निर्विरोध भइसक्नुभएको छ । त्यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा अध्यक्षका प्रत्याशी थापासहित डिलाराम खरेल, दिनेशकुमार गुरुङ, कपिलदेव थापा, केशर गिरी पनि निर्विरोध चयन हुनुभएको छ ।

निर्वाचन समितिका अनुसार पाँच सदस्यमा २१ जना प्रतिस्पर्धीबीच सहमति हुन सकेको छैन । एक महिला उपाध्यक्षमा अनिता गुरुङ लामा र सविता श्रेष्ठबीच पनि सहमति हुन सकेको छैन । सहमति हुन नसके आगामी भदौ १८ गते आइतबार निर्वाचन हुनेछ ।

दुई उपाध्यक्षमा सरोजकुमार खत्री, द्रोणप्रसाद सिलवाल, शिवप्रसाद पौडेल, छत्रबहादुर दाहाल र जीवन न्यौपाने पनि सहमतिमा आउनुभएको छैन । निर्वाचन समितिका संयोजक ओम गुरुङका अनुसार एक सचिव पदका लागि जनकविक्रम शाही र प्रकाश थापाबीच सहमति बन्नसकेको छैन । रिक्त कोषाध्यक्ष पदमा महेन्द्र अधिकारी र प्रह्लादसिंह महत निर्वाचनमा जाँदै हुनुहुन्छ । दुई कोषाध्यक्ष पदमध्ये एकमा थापा निर्वाचित भइसक्नुभएको छ ।

एक सहकोषाध्यक्षमा एकल उम्मेदवारीका आधारमा अनिल थापा निर्विरोध हुनुभएको छ । त्यस्तै एक महिला सदस्यका लागि गीता आचार्य, सिर्जना पाण्डे र कमला गैरे चुनावी मैदानमा हुनुहुन्छ ।

पाँचजनाको कार्यसमिति सदस्यमा उत्तमकुमार श्रेष्ठ, कुमार कार्की, नरेन्द्रराज सापकोटा, दयाराम खरेल, विक्रम खत्री, राजु पनेरु, नारायण खड्का, जगतबहादुर खड्का, डिलाराम गैरे, चेतराम गैरे, दिनेश लोहनी, बालकृष्ण कँडेल, श्याम कँडेल, टीकाराम कँडेल, लालबहादुर रावल, हस्त लामा, सोमनाथ लम्साल, डिल्लीराम सिवाकोटी, राजनकुमार पौडेल, अस्मिता लामा र सुरेश रेग्मीबीच सहमति हुन नसक्दा चुनाव हुने स्थिति देखापर्दैछ ।

प्रकाशित : ३० श्रावण २०७४, सोमबार ००:००