काठमाडौँ, २९ साउन । उपराष्ट्रपति नन्दबहादुर पुनले केही दिनदेखि परिरहेको भीषण वर्षाका कारण तराई–मधेसलगायत देशका विभिन्न भागमा बाढी, डुबान र पहिरोबाट भएको ठूलो मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति पुनले आज एक विज्ञप्ति जारी गरी बाढी, पहिरो तथा डुबानबाट दर्जनौँ मानिसको मृत्यु भएको, केही बेपत्ता र घाइते भएको, हजारौँ नागरिक विस्थापित तथा यातायात र हवाई क्षेत्र अवरुद्ध हुँदा लाखौँ नागरिकको जनजीवन प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
राष्ट्रले ठूलो प्राकृतिक प्रकोप भोगिरहेको समयमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी तराई मधेसमा बाढी र डुबान, पहाडमा पहिरोमा बेपत्ता भएकाको छिटो खोजी गर्न, बाढी पहिरोमा परेका पीडितको यथाशीघ्र उद्धार र पीडितलाई राहत दिलाउन प्रभावकारी कदम चाल्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
एक नेपालीको दुःखमा अर्को नेपालीले सघाउने नेपालीको गौरवपूर्ण संस्कार भएको स्मरण गर्दै उपराष्ट्रपतिले बाढी पहिरो पीडितको उद्धार र राहतको कार्यमा सघाउन राजनीतिक पार्टी, विभिन्न संघ संस्था, नेपाली नागरिक तथा विशेष गरी युवापंक्तिलाई अपिल गर्नुभएको प्रेस संयोजक मनोज घर्तीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेखछ ।
प्रतिक्रिया