काठमाडौँ, २९ साउन । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैँ प्रा डा गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताउनुभएको छ ।
एक्काइस दिनदेखि आमरण अनशनमा रहनुभएका डा केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष दाहाललाई भेट्न पुगेको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै उहाँले आफू केसीले उठाएका मागको पक्षमा रहेको बताउनुभएको हो । भेटमा अध्यक्ष दाहालले भन्नुभयो, “काठमाडौँ उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याइ छ ।”
आफू प्रधानमन्त्री हुँदा पनि डा केसीले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको जानकारी दिँदै उहाँले कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन नसकेको स्पष्ट पार्नुभयो । व्यवस्थापिका–संसद्मा विचाराधीन ऐनमा ठोस व्यवस्था गरेर डा केसीलाई आश्वस्त पार्नुपर्ने र अनसन तोडाउनुपर्नेमा आफू निरन्तर छलफलमा रहेको भन्दै उहाँले सो बारेमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने जानकारी समेत गराउनुभएको थियो ।
भेटमा प्रतिनिधिमण्डलले डा केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उहाँले उठाएका माग सम्बोधन गरी अनशन तोडाउन पहल गर्न अध्यक्ष दाहालसँग आग्रह गरेको थियो ।
प्रतिक्रिया