भद्रपुर, २९ साउन । गृहमन्त्री जनार्दन शर्माले मुलुकमा विपद् परेका बेलामा एक भएर सामना गर्नुपर्ने बताउनुभएको छ ।
झापामा अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित क्षेत्रको आज निरीक्षण गरेपछि चन्द्रगढीमा उहाँले बाढीपीडितलाई खाना र औषधि उपलब्ध गराउन आवश्यक तयारी गरिएको बताउनुभयो । भारी वर्षाका कारण आएको विपत्ति र मुलुकमा उपलब्ध स्रोत साधनमा ठूलो अन्तर भएकाले व्यवस्थापनमा केही समस्या देखिएको गृहमन्त्रीले उल्लेख गर्नुभयो ।
उहाँले विपद्मा परेका व्यक्तिको उद्धार एवं राहतमा सक्रिय सहयोग गर्ने सुरक्षा निकायलाई धन्यवादसमेत दिनुभयो ।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बाढीका कारण तीन जनाको ज्यान गएको, सात जना बेपत्ता भएको जानकारी गराउनुभयो । उहाँले एक हजार २४९ व्यक्ति र एक हजार १६९ परिवार प्रत्यक्ष प्रभावित भएको, तीन जनाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको र विस्थापित परिवारलाई आवास र खानाको प्रबन्ध मिलाइएको बताउनुभयो ।
भद्रपुरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँले झापाका डुबानग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको थियो । उहाँ आजै राजधानी फर्कनु भएको छ ।
प्रतिक्रिया