१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

नृत्यमय मध्यपुरथिमि



भक्तपुर, २९ साउन । मध्यपुरथिमि नगरपालिका क्षेत्र यतिखेर नृत्यमय बनेको ।

यहाँका विभिन्न टोलमा बुधबार रातिदेखि विभिन्न देवीदेवताका नाच प्रदर्शन भइरहेको छ । नेवारी परम्परागत संस्कृतिअनुसार गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म टोल टोलमा विभिन्न देवीदेवताका नाच प्रदर्शन गर्ने प्रचलन छ । .
मध्यपुरथिमिको बोडेमा बोडे प्याखँले परिचित नीलबाराही नाच, नगदेशमा महाकाली प्याखँ, थिमिमा लायकु भैल प्याखँ (दरबारको भैरव नाच) सँगसँगै यस वर्ष सँलचा प्याखँ, इन्द्र अप्सरा नाच लगायत नाच प्रदर्शन भइरहेको छ ।

बोडेको नीलबाराही नाच

ऐतिहासिक नीलबाराही नाच चार दिन चार रात बोडेका विभिन्न स्थानमा प्रदर्शन गरिन्छ । नाच नारायणस्थान लाछीबाट शुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलबाराही स्थान हुँदै पुनःनारायणथानमा प्रदर्शन गरेर समापन गरिन्छ । नाचमा धाँ बाजा, भुस्या, काँय, पाँगा बाजाको तालमा परम्परागत शैलीमा देवी र देवगण नाच्ने गुठीका नाइके प्रेमचन्द्र अदुवा श्रेष्ठले बताउनुभयो ।

नीलबाराही नाचको देवगणमा भैरव एक, द्वारपाल दुई तथा बाराही, कुमारी, गणेश र सिंह चार चार गरी १९ जनाको समूह हुन्छ । देवगणका जोकल (सहयोगी) र वाद्यवादक गरी १०० जनाभन्दा बढी व्यक्ति नाचमा क्रियाशील हुन्छन् ।
किंवदन्तीअनुसार परापूर्वकालमा बोडेको उत्तरपूर्वी दिशाको जंगलमा रहेकी नीलबाराही देवीले मानिसको रुप धारण गरी बोडे शहरमा आएर स्थानीय धों जातका एक मानिसलाई जंगलमा लगेर चार दिनसम्म राखी सो नाचको सम्पूर्ण विधिविधान सिकाएर पठाएको र उनैले यो नाच शुरु गरेकी हुन् । अर्थ अभाव भए पनि बोडेको पहिचानसँग गाँसिएकाले नाच स्वतःस्फुर्त रुपमा निरन्तर सञ्चालन हुँदै आइरहेको श्रेष्ठले बताउनुभयो ।

नगदेशको महाकाली गँः प्याखँ

नगदेशमा महाकाली गँः प्याखँ (महाकाली गण नाच) शुरु भएको छ । मल्लकालीन महाकाली गण नाच सात वर्ष निरन्तर रोकिएकामा युवाको सक्रियतामा गत वर्षदेखि पुनःशुरु भएको हो ।

नाच प्रदर्शनका लागि प्रशिक्षणदेखि समापनसम्म लाग्ने लाखौँ रकम नाचमा सहभागी देवगण स्वयंले खर्च गर्नुपर्ने अवस्थाले प्रत्येक वर्ष नाच प्रदर्शन गर्न समस्या उत्पन्न हुँदै आएको नगदेश सांस्कृतिक पुचःका सचिव विनोद कोजूले बताउनुभयो ।

महाकाली नाचमा रातो जामा लगाइएकी महाकाली एक, पहेँलो जामा लगाइएकी महालक्ष्मी, रातो जामा लगाएकी कुमारीद र कालोमा विभिन्न रङको कपडा मुठा जोडेका सिंह एक एक, कालो कपडा लगाएका भूत भैरव दुई, सेतो धोती वा कछाड लगाएका कवं, नालु गाँसेको खैरो पुटुलं र सुरुवाल लगाएका ख्याक र खैरो कट्टु र सर्ट लगाएका बाँदर दुई, मयूरको भेषमा म्ह्यखा र कालो कपडाको जामा लगाइएको महिषासुर दैत्य एक एक तथा रातो कछाड लगाएका बेता चार गरी १८ जनाको समूह हुन्छ । वाद्यवादन समूहसमेत गरी ५० जनाभन्दा बढी कलाकारको समूह नाचमा सक्रिय हुने गरेका छन् । राति प्रदर्शन गरिने सो नाच प्रदर्शनले नगदेश क्षेत्र भूतप्रेत, पिशाच, रोगव्याधि, विभिन्न प्राकृतिक प्रकोप एवं चोरको भयबाट मुक्त हुने जनविश्वास छ ।

सो नाच दैनिक करिब चार घण्टाका दरले च्वें त्वाः गाः, कुमालाछी, छ्वास त्वाः, नृत्यनाथ, लाछी टोलमा प्रदर्शन गरिने नृत्यु गुरु भक्तबहादुर घजूले जानकारी दिनुभयो । नाच बाहः ननीस्थित उःननी र थःननी, झ्वापुननी, क्वें त्वाः गाः र पुखुसीमा पनि प्रदर्शन गरिन्छ । दश ठाउँमध्ये नृत्यनाथ, च्वे त्वाः गा, छ्वास त्वाः र उःननीमा महाकालीको सम्पूर्ण नाच प्रदर्शन गरिने घजूले जानकारी दिनुभयो ।

मुहाली बाजा, नायखिँ, धाँ बाजा, तः, मृदङ, भुस्याय्, छुस्याय्लगायत बाजाको संयुक्त तालमा नाच प्रस्तुत गरिन्छ । महाकाली नाचमा २१ ताल हुन्छ । मुख्य भूमिकामा रहेकी देवीको एकल नाच पनि प्रदर्शनी हुनेछ । एकताल, दुताल, चौताल, परताल, ब्रह्मताल, अष्ट्राताल, बौतय्गु ताल, दैत्यसम्हार तालमा पूरै कलाकार सहभागी गराएर मृदङ्ग, मूहाली, ताः, बौ, धा, भूस्या, नायखी, छुस्याय्लगायत बाजा बजाएर महाकाली, महालक्ष्मी र कुमारीको एकल नाच प्रदर्शन गरिन्छ ।
थिमिको लाय्कु भैल प्याखँ

साढे चार दशकदेखि रोकिएर दुई वर्ष अघिदेखि पुनःसञ्चालनमा आएको लाय्कू भैल प्याखँ (लायकु भैरव नाच) प्रदर्शन शुरु भएको छ । भैरव नाचलाई भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमी (गाईजात्राको भोलिपल्टदेखि चार दिन) सम्म लाय्कू, दथुटोल, बालकुमारी, दिगुटोलगायत ठाउँमा प्रदर्शन गरिन्छ ।

थिमि क्षेत्रका जनतालाई भूत, प्रेत र पिशाचले समय समयमा दुःख दिने गरेपछि त्यसको समाधान खोज्न तान्त्रिक, शास्त्री र विद्वान्को सल्लाहमा तन्त्र साधनाद्वारा भैरवनाथ जगाई भैरव नाच सञ्चालनमा आएको भनाइ छ । नाचमा दुई दुई भैरव र दाय्गी (कुमारी) तथा एक ज्यापुग कलाकार हुन्छन् । भैरव नाचमा एक दर्जन दागः (काठ र छालाबाट बनेको बाजा), आठ भूस्याय् बाजा, पोङ्गा बाजा(आठ जनाले बजाइने ) र मुहाली (सनइ) बजाइन्छ ।

लाय्कू भैल प्याखँ सञ्चालनमा नभए पनि प्रजापतिले सञ्चालन गर्ने भैल प्याखँ प्रदर्शन हुँदै आइरहेको छ । लाय्कू भैलः सञ्चालन हुने भएपछि प्रजापतिले भैरव नाच प्रदर्शन गर्दैनन् । त्यसैले दुई वर्षदेखि भैल प्याखँ प्रदर्शन गरिएको छैन ।

थिमि पोबुको सलँचा प्याखँ
उन्नाइस वर्षपछि लिच्छविकालीन सलःचा प्याखँ (घोडा नाच) प्रदर्शन भएको छ । पोबु टोलका भासिमाले सो नाच प्रदर्शन गर्दै आइरहेका छन् । पछिल्लो पटक सन् १९९८ को नेपाल भ्रमण वर्षका अवसरमा टुँडिखेलमा नाच प्रदर्शन गरिएको थियो । पाण्डव जुवामा सबथोक हारेर चौध वर्षको वनवास र एक वर्षको गुप्तवासपछि घोडामा घर फर्किएको प्रसंग सो नाचमा रहेको नाचका गुरु कान्छा भासिमाले जानकारी दिनुभयो ।

युधिष्ठिर, भीम अर्जुन नकुल सहदेव क्रमशः कालो, रातो, हरियो, पहेंलो र सेतो जामामा हुन्छन् । श्रीपेच र हातमा धनुषवाणसहित सो नाच कृत्रिम घोडामा चढेर नाचिन्छ । यसमा गीत गाउने, बाजा बजाउने र बत्ती बाल्नेसहित ४० देखि ५० जनाको सहभागिता हुन्छ । सलःचा प्याखँ व्यवस्थापन समिति गठन गरी निरन्तरता दिने प्रयास भइरहेको बताइएको छ ।

इन्द्रअप्सरा नाच

मल्लकालीन इन्द्र–अप्सरा नाच प्रदर्शन भइरहेको छ । यो नाच रणजित मल्लको पालादेखि सञ्चालन भएको विश्वास गरिन्छ । थिमिको मरुटोलबाट निकालिएको सो नाचका पात्रमा एक एक बूढा मान्छे र राजकुमार तथा दुई तीन अप्सरा रहने नाचका नृत्य गुरु ज्ञानीलाल कायष्थले जानकारी दिनुभयो ।

प्रकाशित : २९ श्रावण २०७४, आइतबार ००:००