१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

परराष्ट्रमन्त्री महरासँग श्रीलंकाका विदेश राज्यमन्त्रीको भेट



काठमाडौँ, २८ साउन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग श्रीलंकाका विदेश राज्यमन्त्री वसन्त सेनानायकेले आज शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हित, चासो र आपसी सम्बन्धका बारेमा छलफल भयो ।

सो अवसरमा परराष्ट्रमन्त्री महराले लुम्बिनी र बौद्ध धर्मावलम्बीका कारण दुई देशको सम्बन्धलाई प्रगाढ बनाएको भन्दै नेपाल–श्रीलंका सम्बन्ध सांस्कृतिकरुपमा बलियो रहेको बताउनुभयो ।

लुम्बिनी क्षेत्रको बृहत्तर विकास गरी दुई देशबीचको पर्यटन प्रवद्र्धनमा लग्नुपर्ने बताउँदै उहाँले त्यसका लागि दुबै देशले सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री महराले भन्नुभयो, “लुम्बिनी क्षेत्रमा पर्ने रामग्राम, तिलौराकोटलगातका क्षेत्र दुवै मुलुकका लागि महत्वपूर्ण पर्यटन गन्तव्य हो ।”

दुई देशबीच रहिआएको वर्षौंदेखिको सम्बन्धलाई अझ निकट तुल्याउन द्विपक्षीय बैठकलाई निरन्तरता दिने र दुई देशका संयन्त्रलाई क्रियाशील बनाउनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

भेटमा श्रीलंकाका विदेश राज्यमन्त्री सेनानायकेले लुम्बिनी क्षेत्रलाई केन्द्रित गरेर ‘कनेक्टिभिटी’ बढाउन पहल गर्नुपर्ने बताउँदै दुवै देशबीच रहिआएको असल सम्बन्धलाई विस्तार गर्नका लागि दुई देशबीच नियमित भेटघाट हुनुपर्नेमा जोड दिनुभयो ।

भेटमा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना र नेपालका लागि श्रीलंकाका राजदूत डब्लुएस परेरा सहभागी भएको उपप्रधान तथा परराष्ट्रमन्त्रीको जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले जानकारी दिनुभयो ।

प्रकाशित : २८ श्रावण २०७४, शनिबार ००:००