काठमाडौँ, २६ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले राजधानी जोड्ने चितवन मुग्लिन सडक कहिले पुनः निर्माण हुन्छ ? भनी प्रश्न गरेका छन् ।
भूउपयोग नीति ल्याउन, वर्षा हुँदा हिलाम्मे हुने र घामलाग्दा धुलाम्मे हुने राजधानीका सडकको दूरावस्थामा सरकारले ध्यान नदिएको, राजधानीका सार्वजानिक यातायातका यात्रुले कष्टप्रद रुपमा यात्रा गर्नु परेको भन्दै उहनीहरुले भूकम्पपीडित जनताको गुनासा सम्बोधन गर्न माग गरे ।
सांसदहरुले चालक अनुमतिपत्रलाई सहजीकरण गर्न, मौसमी रुघाखोकीका बारेमा आम जनतालाई सचेत बनाउन र चेलीबेटी बेचबिखन रोकथाम गर्न सरकार असफल भएको समेत आरोप लगाए । यसरी आफ्नो धारणा व्यक्त गर्नुहुनेहरुमा अञ्जनी श्रेष्ठ, अञ्जना चौधरी, आनन्दप्रसाद पौडेल, अनारकली मियाँ, अनिता देवकोटा, अफिलाल ओखेडा, अमनलाल मोदी, अम्मरसिंह पुन, अमृतकुमार बोहरा, आदित्यनारायण कसौधन, उदयशम्शेर जवरा, कलेशादेवी महरा, केदारप्रसाद सञ्जेल र केशरी घर्ती मगर हुुनुहुन्थ्यो ।
हात हातमा मोबाइल तर टावरले काम गर्दैन
व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा नेपाली काँग्रेसका जगदीश नरसिंह केसीले एउटै मागका लागि अनशन बस्नुभएका प्राडा गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको हुँदा उहाँको जीवन रक्षा गर्न माग गर्नुभयो ।
उहाँले चिकित्सा शिक्षाका बारेमा माथेमा आयोगले दिएका सुझावलाई कार्यान्वयन गर्न, हालैको अविरल वर्षात्का कारण विभिन्न भागमा गएको पहिरोले जनधनको क्षति पु¥याएकामा सरकार र सदनको ध्यान जाओस् भन्नुभयो ।
नेकपा (एमाले)का अग्नि खरेलले संविधान कार्यान्वयनका लागि १३८ वटा नयाँ कानून बन्नुपर्नेमा सरकार आलटाल गरी बसेको आरोप लगाउनुभयो । उहाँले निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोल र जनसङ्ख्यालाई ध्यान दिन पनि सुझाव दिनुभयो ।
नेकपा (माओवादी केन्द्र)का अग्नि सापकोटाले भ्रष्टाचार क्षयरोगका रुपमा देखापरेका चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण गर्न सदनको सार्वजानिक लेखा समिति र अर्थ समितिले दिएको निर्देशन पालना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाल आयल निगमको जमिन खरिद र राजश्व विभागका तत्कालीन महानिर्देशकका बारेमा सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका लीला श्रेष्ठले पेट्रोलियम एशोशिएनले पेट्रोलियम पदार्थ नेपाल आयल निगमबाट खरिद तथा बिक्री नगर्ने घोषणाले आम उपभोक्ता मर्कामा परेको बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीका अकबाल अहमद साहले संविधान संशोधन प्रस्ताव ल्याउन किन ढिलाइ भइराखेको छ ? भन्ने प्रश्न गर्नुभयो ।
नेकपा (माले)का अइन्द्रसुन्दर नेम्वाङले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफ्ना सुविधा बढाउनभन्दा अधुरा योजना पूरा गर्न ध्यान दिनुपर्छ भन्नुभयो ।
नेपाल मजदूर किसान पार्टीका दिल्लीप्रसाद काफ्ले जनताको हात हातमा मोबाइल छ तर नेपाल दूर सञ्चार प्राधिकरणको टावरले काम गर्न सकेको छैन, कुरा गर्न पाइएको छैन भन्नुभयो ।
राष्ट्रिय जनमोर्चाका मीना पुनले एउटै माग राखी अनशन बस्नुभएका प्राडा गोविन्द केसीले उठान गरेका माग सम्बोधन गर्न सरकारसित माग गर्नुभयो ।
प्रतिक्रिया