गोरखा, २६ साउन । भूकम्पपछि अवरुद्ध छवटा लघुजलविद्युत् आयोजना मर्मत गरेपछि सञ्चालनमा आएका छन् ।
मुच्चोकको १५ किलोवाट क्षमताको सोताखोला आयोजना रु आठ लाख ५० हजार लगानीमा मर्मतपछि सञ्चालनमा आएको छ । सो आयोजनाबाट १६५ घरधुरी लाभान्वित भएका छन् ।
हंसपुरस्थित १३ किलोवाट क्षमताको अँधेरीखोला लघुजलविद्युत् आयोजना रु पाँच लाखको लागतमा सञ्चालनमा आएको छ । सो आयोजनाबाट ११४ घरपरिवार लाभान्वित भएका छन् । दश किलोवाट क्षमताको लापुस्थित नौलीखोला पहिलो लघुजलविद्युत् आयोजना रु सात लाखमा मर्मत भएपछि ८४ घरका बासिन्दाले बत्ती बाल्न पाएका छन् ।
गुम्दाको १४ किलोवाट क्षमताको सिङ्ला डिम्वाखोला जलविद्युत् आयोजना रु दश लाखमा मर्मतसम्भारपछि सञ्चालनमा आएको छ । सो आयोजनाबाट १७५ घरधुरीले अँध्यारोबाट मुक्ति पाएका छन् भने ५५ किलोवाट क्षमताको मुच्चोकस्थित झ्याल्लाखोला लघुजलविद्युत् आयोजना रु पाँच लाख लगानीमा मर्मतपछि सञ्चालनमा आएको छ । यहाँ ४५० घरधुरीका बासिन्दाले विद्युत् उपभोग गर्दैछन् । उहियास्थित २६ किलोवाट क्षमताको लुङ्खेतखोला लघुजलविद्युत् रु दश लाख लगानीमा मर्मतपछि २१८ घरधुरीमा उज्यालो पुगेको छ । भूकम्पका कारण सो आयोजनामा क्षति पुगेको थियो । यहाँका बासिन्दा २८ महिनादेखि अन्धकारमा थिए ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटारबाट प्राप्त रु ४५ लाखले छवटा जलविद्युत् आयोजनाको मर्मत गरिएको जिल्ला समन्वय समितिका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत उज्वल गिरीले बताउनुभयो । जिससमा आएको विद्युत् रोयल्टी रकमबाट थप जलविद्युत् आयोजना मर्मतको तयारी गरिएको छ । अवरुद्ध जलविद्युत् आयोजना मर्मत गर्न रु एक करोड बजेट आवश्यक छ । सौरपानीको टुनीखोला, लाप्राकको लिस्याङबुङखोला र लापुको नौलीखोला दोस्रो आयोजना मर्मत गर्न माग गर्दै निवेदन आएको छ । सिम्जुङ, घ्याच्चोक, सौरपानीलगायत गाउँका स्थानीय बासिन्दा लघुजलविद्युत् आयोजना अवरुद्ध भएपछि अन्धकारमा बस्न बाध्य छन् ।
प्रतिक्रिया