इटहरी, २६ साउन । नेपाल आदिवासी जनजाति महासंघले नेपालमा नै पहिलोपटक पूर्वी नेपालको सुनसरी जिल्लाको धरान–१४ स्थित विजयपुरमा निर्माण थालेको बहुजातीय संग्रहालय निर्माण कछुवा गतिमा भइरहेको तर्फ सबैको ध्यान केन्द्रित बन्न थालेको छ ।
नेपाल सरकारको संस्कृति मन्त्रालयअन्तर्गत स्थानीय आदिवासी जनजातिसमेतको सहकार्यमा एक बिगाहको क्षेत्रमा १९ आदिवासी जनजातिले प्रयोग गर्दै आएको धर्म संस्कार संंस्कृति वेशभूषा हातहतियार भाँडावर्तन ढिकी जाँतो खानपानका वस्तु आदिलाई साविक रुपमा सजाएर राख्ने उद्देश्यले सो संग्रहालय निर्माण थालिएको थियो ।
करिब रु ३५ करोड बढीको लागतमा निर्माण गर्ने गरी परियोजना तयार पारेर निर्माण थालिएका भए पनि सम्बन्धित सरोकारवालाबाट समयमा नै पर्याप्त बजेट निकासा नहुनु र हरेक वर्ष थोरैमात्र बजेट निकासा भइरहेकाले काममा ढिलाइ भइरहेको नेपाल आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष रामकुमार राईको भनाइ रहेको छ ।
पूर्वी नेपालमा बसोवास रहेका १९ आदिवासी जनजातिका जीवन्त संस्कृति झल्कने १९ वटा घर निर्माण गर्ने कार्यको अहिलेसम्म थालनी हुन नसक्नु आर्थिक कमजोरीकै कारणले अघि बढ्न नसकेको पनि अध्यक्ष राईको भनाइ रहेको छ । धरान उपमहानगरपालिकाको स्वामित्वमा रहेको उक्त जमिनमा अहिले जग्गाको घेराबेराका लागि पक्की पर्खाल लगाई प्रवेशद्वार निर्माण गर्ने कार्य भने सम्पन्न भएको छ ।
आदिवासी जनजाति नेता सुजेन्द्र तामाङले अहिले त्यहाँ रहने संग्रहालयमध्येका भवनको केही भाग निर्माण भइरहेको तथा पर्याप्त बजेट निकासा नभएकाले जुन सक्रियताले भवन बन्नु पर्ने हो त्यो काम भने नभएको तर्फ नेपाल आदिवासी जनजाति महासंघले विभिन्न सम्बन्धीत निकायसँग छलफल परामर्श र अन्तरक्रिया गर्ने कार्यलाई तीव्रता दिँदै आएको पनि तामाङले जानकारी दिनुभएको छ ।
आदिवासी जनजाति भनेर सूचीकृत राई, लिम्बू ,नेवार, मगर, शेर्पा, थारु, सतार, धिमाल, मगर, राजवंशीलगायतका १९ जातजातिको संस्कार संस्कृति रहनसहन र वेशभूषालगायत एकै स्थानमा संग्रहित गरेर भावी पुस्तालाई अध्ययनका लागि महत्वपूर्ण थलोका रुपमा विकास गर्ने पवित्र उद्देश्य राखेर निर्माण थालिएको संग्रहालयले निर्माण गति नलिएकोप्रति सर्वत्र चासो र चर्चा भइरहेको पाइएका छन् ।
प्रतिक्रिया