१ फाल्गुन २०८१, बिहिबार । February 13, 2025

मुख्य खबर

राही सरको निधन



लहान, २५ साउन । विश्वकर्मा कल्याण समाजका पूर्व अध्यक्ष तथा अवकाश प्राप्त शिक्षक उपेन्द्र विश्वकर्मा (राही सर) को मंगलबार निधन भएको छ ।

लामो समयदेखि पक्षघात तथा मधुमेह रोगबाट पीडित विश्वकर्माको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा ६९ वर्षको उमेरमा निधन भएको परिवारजनले बताएको छ । सप्तरीको खडक नगरपालिका निवासी उहाँ उपेन्द्र राही ‘कल्याणपुरी’को नामबाट समेत चिनिनुहुन्थ्यो ।

कुशल शिक्षकसँगै जिल्लामा साहित्यकारको रुपमा समेत पहिचान बनाउनुभएका उहाँले नेपालभरिका विश्वकर्मा स्वजातिलाई संगठित गर्दै २०५१ सालमा विश्वकर्मा कल्याण समाजको स्थापना गर्नुभएको थियो । कम्युनिष्ट सिद्धान्त प्रभावित उहाँ नेकपा (एमाले)का संगठित सदस्य समेत हुनुहुन्थ्यो । उहाँका एक श्रीमती, तीन छोरी र एक छोरा छन् । यसैबीच, मंगलबारै बुद्ध धर्म परम्पराअनुसार उहाँको अन्तिम संस्कार गरिएको छ ।

अन्तिम संस्कार गर्नुअघि एमालेका जिल्ला अध्यक्ष गोविन्द न्यौपानेसहितका नेता कार्यकर्ताले उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । यस्तै, विश्वकर्मा उत्थान समाजका पदाधिकारीले पनि समाजको झण्डा ओढाएर उहाँलाई श्रद्धाञ्जलि दिनुभयो ।

प्रकाशित : २५ श्रावण २०७४, बुधबार ००:००