पोखरा, २२ साउन । खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ ।
पोखरा स्पोर्टस् अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व फुटबल एवं एथलेटिक्सका खेलाडी खड्गबहादुर रानाभाट सम्मानित हुनुभएको छ ।
पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले रानाभाटलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडीमा लन टेनिसका कुमार अधिकारी, वर्ष उत्कृष्ट महिला खेलाडीमा भलिबलकी अरुणा शाहीलाई पुरस्कृत गरिएको छ । उहाँहरुले जनही रु २५÷२५ हजार नगद र एक थान सामसुङ मोबाइल प्राप्त गर्नुभएको छ ।
यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्यान्दोका सुनबहादुर लामा, वर्ष उत्कृष्ट नवप्रतिभा खेलाडीमा भलिबलकी ममता डगौरा, वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिएको छ ।
उहाँहरुले रु १०÷१० हजार, ट्रफी र सम्मानपत्र पाउनुभएको छ । उहाँहरुलाई नेपाल पत्रकार महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङ, गायक प्रमोद खरेललगायतले पुरस्कृत गर्नुभएको थियो ।
सो अवसरमा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरलाई दक्षिण एशियाकै प्रशिक्षणको केन्द्र बनाउने उद्घोष गर्नुभयो ।
लाइभटाइम एचिभमेन्टबाट सम्मानित खड्गबहादुर रानाभाटले घरपरिवारबाटै हौसला भएमा मात्रै खेलाडीले सफलता पाउन सक्ने विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया