काठमाडौँ, २२ साउन । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ)ले आफ्ना दुई खेलाडीलाई आइटिएफ वर्ष खेलाडी–२०७३ अवार्डबाट सम्मान गरेको छ ।
त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा महासंघको २०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित एक कार्यक्रममा पुरुषमा त्रिभुवन आर्मी क्लबका पूर्णबहादुर मगर तथा महिलामा भक्तपुरकी सोनी खड्कालाई नगदसहित वर्ष खेलाडी अवार्डबाट सम्मान गरेको हो ।
दुवैले गत वर्ष सातौँ राष्ट्रिय खेलकुद र महासंघले आयोजना गरेको दुई राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका थिए ।
सोही अवसरमा घमबहादुर थापालाई उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मान गरियो भने सक्रियताका आधारमा नवलपरासी जिल्ला आइटिएफ संघलाई उत्कृष्ट संघ घोषणा गर्दै पुरस्कृत गरियो । सम्मानित चारै जनाले जनही रु पाँच हजार नगदसहित सम्मानपत्र प्राप्त गरे ।
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले उनीहरुलाई नगद र सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभयो ।
कार्यक्रममा उहाँले राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका संघमध्ये खेल गतिविधि नगर्ने संस्थालाई खारेज गर्ने बताउनुभयो ।
मिर्गाैला रोगबाट पीडित आइटिएफका पूर्वखेलाडी एवम् प्रशिक्षक सुरज थापालाई महासंघले रु ५० हजार आर्थिक सहयोग उपलब्ध गराएको थियो । महासंघका उपाध्यक्ष कल्पदीप राईले पनि २० हजार नगद पुरस्कार सहयोग गर्नुभयो । प्रशिक्षक घमबहादुरले पाएको नगद पुरस्कारसमेत सुरजलाई प्रदान गर्नुभयो ।
प्रतिक्रिया