धनगढी, २० साउन । अविरल वर्षासँगै कैलालीको कान्द्रा नदीमा आएको बाढीमा बगेर आज भजनी नगरपालिकाका प्रह्लाद चौधरी बेपत्ता भएका छन् ।
घरमा पालेको हाँस नदीमा बगेपछि बचाउन जाँदा चौधरी नदीमा डुबेर बेपत्ता भएको प्रजिअ गोविन्द रिजालले बताउनुभयो । प्रहरीले बेपत्ता चौधरीको खोजी गरिरहेको छ ।
वर्षाका कारण कैलालीका नदी तथा खोलामा बढेको पानी गाउँ पसेपछि घोडाघोडी, टीकापुर, भजनी, कैलारी र जानकी क्षेत्र जलमग्न भई एक सय घर परिवार विस्थापित छन् । प्रजिअ रिजालले घरमा पानी पसेर ती परिवार विस्थापित भएको बताउनुभयो । विस्थापितलाई नजिकको विद्यालयमा राखिएको छ ।
नेपाल रेडक्रस सोसाइटीले विस्थापितका लागि चाउचाउ, बिस्कुटलगायत खानेकुराको व्यवस्था मिलाएको छ । वर्षाले डुबानमा परेर बिचल्लीमा परेका टीकापुर नगरपालिका, पथरैया क्षेत्रका १३० जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेका छन् ।
यस्तै कैलारीका कटैनी र भुइयाफाटामा डुबानमा परी अलपत्र परेका २५ जनाको उद्धार गरिएको छ । वर्षापछि भएको डुबानबाट दुई सय घरपरिवार आंशिक रुपमा प्रभावित भएका छन् । अविरल वर्षासँगै कान्द्रा, पथरैया, मोहना नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सूचना गरिएको छ ।
प्रतिक्रिया