बेनी (म्याग्दी), १९ साउन । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरमा धौलागिरि अञ्चलकै पहिलो मानव निर्मित बुढोपोखरीको संरक्षणका लागि काम शुरू भएको छ । ऐतिहासिक महत्व बोकेको बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्ने पोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् ।
सन् १८४० मा रत्नेचौरमा खानेपानीको अभाव भएपछि निर्माण गरिएकोे पोखरी संरक्षणको अभावमा जीर्ण बनेपछि पटक–पटक संरक्षणको पहल भएको वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । “गिर्वाणयुद्ध विक्रम राजाले उपहारस्वरुप दिएको जग्गामा पोखरी बनाइएको हो । पोखरी बनेपछि मानव बस्तीको विस्तार भएको किम्बदन्ती छ”, वडाध्यक्ष रावलले भन्नुभयोे ।
अध्यक्ष रावलका अनुसार गिर्वाणयुद्ध विक्रमको पालामा दिइएको जग्गामा स्थानीय वसन्त बोगटीका बाजेको सन् १८३६ मा लडाइँमा मृत्यु भएपछि बोगटीको स्मृतिमा विभिन्न स्थानबाट ठूलो जनशक्तिको प्रयोग गरी पोखरी निर्माण र बस्ती विस्तार गरिएको थियो । बुढोपोखरीलाई अञ्चलकै पहिलो मानवनिर्मित पोखरी भएको दाबी समेत गर्ने गरिएको छ ।
तत्कालीन समयमा आफ्ना हजुरबुवाले युद्धमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिँदा यहाँका ठूला समाजसेवी वसन्त बोगटीले रत्नेचौर, रघुगंगा गाउँपालिकाको पिप्ले, मुस्ताङको मुक्तिनाथलगायतका स्थानमा सयौँ रोपनी जग्गा उपहार पाएका थिए । ती जग्गा वसन्त सदावर्त गुठी अन्तर्गत रहेका छन् । वसन्त वोगटीको पनि करिब आधा शताव्दी अगाडी नै निधन भइसकेको छ भने उनका सन्तान यहाँ रहेका छन् । करिब तीन दशकसम्म पोखरीमा जम्मा भएको खानेपानी प्रयोग गर्ने गरिएको स्थानीय बूढापाकाको भनाइ छ ।
पोखरी संरक्षणमा जुटेका स्थानीयलाई बेनी नगरपालिकाबाट रु ४० हजार, जिल्ला भू–संरक्षण कार्यालयबाट रु एक लाख प्राप्त भएको छ । त्यसैगरी स्थानीयले रु एक लाख ५० हजारको जनश्रमदान गरी पोखरीलाई पुरानै स्वरुपमा फर्काउने प्रयास भइरहेको छ ।
स्थानीयतहको निर्वाचनलगत्तै जनप्रतिनिधिले गाउँमा अति आवश्यक र अलपत्र परेका योजनालाई प्राथमिकता दिइरहेका छन् । जनप्रतिनिधिको सक्रियताले जनश्रमदानमा समेत आनाकानी गर्ने स्थानीयवासीलाई दबाबका साथै बजेट दुरुपयोग समेत रोकिएको छ ।
“यसलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा छाँै”, भानु माविका प्रधानाध्यापक भरत खत्रीले भन्नुभयो । प्रअ खत्रीका अनुसार करिब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा समेत बगँैचा विस्तार गर्न सात रोपनी जग्गा रहेको छ । करिब २२० मिटर माथि ढोरेनीखोलाबाट ल्याइएको पानी पोखरीमा हालिएको छ ।
छिमेकी जिल्ला बागलुङबाट २० मिनेट, म्याग्दीको सदरमुकाम बेनीबाट २५ मिनेट र पर्वत जिल्लाको कुस्माबाट एक घण्टामा रत्नेचौरमा रहेको सो पोखरीमा पुग्न सकिन्छ ।
प्रतिक्रिया