बैतडी, १८ साउन । बैतडीको पुरचौडी नगरपालिका–१ मा बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन भएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेका हुन् । वडा नं १ अध्यक्ष गणेशबहादुर गडालसहितका जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेको स्थानीय लालबहादुर भण्डारीले जानकारी दिनुभयो । नवनिर्वाचित जनप्रतिनिधिले घरघरमा गएर २० वर्षपछि मात्रै विवाह गर्न सल्लाह दिने गरेको उहाँले बताउनुभयो ।
यसका साथै आआफ्नो टोलमा सरसफाइ राख्नका लागि जनप्रतिनिधिले आग्रह गरेका छन् । नमूना वडा बनाउनका लागि बालविवाह एक समस्याका रुपमा देखा परेकाले अभियान सञ्चालन गरिएको वडा नं १ का वडा अध्यक्ष गडालले जानकारी दिनुभयो ।
जनप्रतिनिधिले थालेको अभियानले बालविवाह अन्त्यका लागि सहयोग गर्ने हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले बताउनुभयो । पुरचौडी नगरपालिकाको हाटलाई स्वास्थ्यको नमूना वडा बनाउने अभियान यसअघि नै शुरु भइसकेकाले सो अभियानलाई यसले टेवा पुग्ने उहाँले बताउनुभयो ।
पुर्चाैडी–४ लाई नमूना वडा बनाइने
बैतडीको पुर्चाैडी नगरपालिका–४ मा मदिराको अवैध कारोबार गर्ने तथा मदिरा सेवन गरेर होहल्ला गर्नेलाई कारबाही गर्ने निर्णय भएको छ ।
सोमबार वडाध्यक्ष गौतमप्रसाद भट्टको अध्यक्षतामा बसेको बैठकले वडामा मदिराको कारोबारलाई नियन्त्रण गर्ने निर्णय गरेको हो । वडामा मदिरा सेवन गरेर होहल्ला गर्नेलाई रु तीन हजार जरिवाना गर्ने निर्णय भएको छ भने सार्वजनिक पद धारण गरेका व्यक्तिले मदिरा सेवन गरी होहल्ला गरेमा रु सात हजार जरिवाना गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यस्तै, मदिराको अवैध कारोबार गरेको पाइएमा रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गर्ने निर्णय भएको छ । यसैगरी जुवातास खेल्ने र खेलाउनेलाई रु ५०० देखि दुई हजारसम्म जरिवाना गर्ने निर्णय भएको वडाध्यक्ष भट्टले जानकारी दिनुभयो ।
वडा नं ४ लाई बालविवाहमुक्त वडा, घरमा हुने सुत्केरी शुन्य वडा घोषणा गरेर नमूना वडा बनाइने निर्णयसमेत भएको छ ।
प्रतिक्रिया