डोल्पा(दुनै), १७ साउन – काइके गाउंपालिकाको शहरतारामा रहेको नेपाल टेलिकमको नमस्ते मोवाइलको विटिएस टावर एक हप्तादेखि अवरुद्ध भएपछि प्रयोगकर्ताहरु मर्कामा परेका छन् ।
एक हप्तादेखि नमस्ते मोवाइलको टावर बिग्रेकाले काइके गाउंपालिका संचार सम्पर्कबाट विच्छेद भएको छ । मोवाइल टावर बिग्रदा काइके गाउंपालिकाका मोवाइल प्रयोगकर्ताहरु मर्कामा परेको काइके गाउंपालिकाका अध्यक्ष अंगद बुढाले बताए । उनले थपे मोवाइल टावर बिग्रे पछि देश विदेशमा रहेका आफन्तहरुसंग कुरा गर्न र कार्यालयीय कामका लागि सम्पर्क गर्न कठिन भएको मात्र होइन फोन गर्नका लागि सदरमुकाम दुनै पुग्नु पर्ने वाध्यता आएको छ ।
विटिएसमा विधुत वितरण समस्या भएको अनुमान भए पनि के कति कारणले नमस्ते मोवाइलको विटिएस अवरुद्ध भएको हो अनुमान नभए पनि नेपाल टेलिकमको क्षेत्र र केन्द्रमा अवरुद्ध भएको सम्बन्धमा जानकारी गराइएको नेपाल टेलिकम डोल्पाका कार्यालय प्रमुख दयाविक्रम के सी ले बताए ।
नेपाल टेलिकमले पावर सप्लाईमा समस्या आएको अनुमान गरेको र त्यसका लागि छिट्टै त्यस तर्फ प्राविधिक पठाउने तयारी गरिएको पनि नेपाल टेलिकम डोल्पाका प्रमुख दयाविक्रम के सी ले जानकारी दिए ।
नेपाल टेलिकमका भिस्याट टेलिफोन नचल्दा र सर्भे समेत भैसकेका नमस्ते मोवाइल टावर जडान गर्न ढिलाई हुंदा माथिल्लो डोल्पाका शे–फोक्सुण्डो गाउंपालिका, डोल्पोबुद्ध गाउंपालिका र छार्काताङसोङ गाउंपालिकाका जनताहरुले नेपाल टेलिकमका सेवाहरु उपभोग गर्न पाएका छैनन् ।
गाउंपालिका अध्यक्ष एमाले प्रवेश
डोल्पा(दुनै), १७ साउन – जिल्ला समन्वय समिति डोल्पाको निर्वाचनका मुखैमा आएर डोल्पोबुद्ध गाउंपालिकाका अध्यक्ष एमाले प्रवेश गरेका छन् ।
एमालेको आधिकारी उम्मेदवारका विरुद्धमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारका रुपमा उठेर जितेका डोल्पोबुद्ध गाउंपालिकाका अध्यक्ष तेम्बा गुरुङ् एमालेमा प्रवेश गरेको नेकपा एमाले डोल्पाका सचिव नन्दसिंह बुढाले जानकारी दिए ।
जिल्ला समन्वय समिति डोल्पाको निर्वाचन कार्यतालिका अनुसार सोमवार एमालेको प्यानलले मात्र मनोनयन पत्र दर्ता गरेको थियो । यस प्यानलका विरुद्धमा कुनै पनि उम्मेदवारी परेन । आधिकारिकरुपमा घोषणा नभए पनि निर्विरोध भैसकेको एमालेको प्यानललाई आगामी बुधवार मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले घोषणा गरी प्रमाणपत्र दिनेछ ।
जिल्ला समन्वय समितिमा एमाले प्यानल निर्विरोध भएकोमा अनौपचारिक बधाई दिने क्रममा आयोजित एक कार्यक्रममा डोल्पोबुद्ध गाउंपालिकाका अध्यक्ष गुरुङ्ले एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेश गरेका गुरुङ्लाई नेकपा(एमाले) डोल्पाका अध्यक्ष दत्तबहादुर रोकायाले अविर लगाई स्वागत गरेका थिए ।
यस अघि पनि एमाले सदस्य रहेका तेम्बा गुरुङ्लाई पार्टी उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवार भएकोमा कारवाही भने गरेको थिएन । नेकपा(एमाले) डोल्पाका धेरै पदाधिकारीहरुले निर्वाचनको बेला धोका दिएको भए पनि पार्टीले कारवाही नगरेको पार्टी सदस्यहरुको गुनासो बढेको छ । पार्टीका अध्यक्ष र वैकल्पिक केन्द्रिय सदस्य समेतले पार्टीका उम्मेदवारलाई सहयोग नगरेकाले कारवाही नभएको धेरैको अनुमान छ ।
प्रतिक्रिया